बाजुराको तोली स्कुल विद्यार्थीको पहिलो रोजाइ

बिहीबार असोज ९, २०८२/ Thursday 09-25-25
Paschim Today

 

बाजुरा । त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोलीदेवलडाँडा माध्यमिक विद्यालय पछिल्लो समय जिल्लाको उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ। भौतिक पूर्वाधारदेखि शिक्षण पद्धतिमा गरिएको सुधारका कारण यस विद्यालयतर्फ विद्यार्थीको आकर्षण दिनप्रतिदिन बढिरहेको छ।

प्रधानाध्यापक विष्णुप्रसाद ओझाका अनुसार विद्यालयले प्रत्येक हप्ता परीक्षामार्फत विद्यार्थीको सिकाइ परीक्षण गर्ने र नबुझेको विषयलाई दोहोर्याउने पद्धति अपनाएको छ। यसले बालबालिकाको पढाइमा उल्लेखनीय सुधार ल्याएको छ। अभिभावकलाई पनि सिकाइ प्रक्रियामा सहभागी गराउँदै साप्ताहिक छलफलमार्फत पाठयोजना तय गर्ने प्रथा सुरु गरिएको छ।

पहिले एसइईमा झन्डै ३५ प्रतिशत मात्र उत्तीर्ण हुने गरेकोमा अहिले ९५ प्रतिशत विद्यार्थी पास हुन थालेका छन्। विद्यार्थी संख्यामा पनि तीव्र वृद्धि भएको छ  पहिला करिब ६ सय मात्र विद्यार्थी रहेका विद्यालयमा हाल ८५३ जना अध्ययनरत छन्।

विद्यार्थी एलिजा साउदका अनुसार अन्य विद्यालयमा व्यवस्थापन र शिक्षण शैली कमजोर भए पनि तोली स्कुलले शैक्षिक गुणस्तर, अनुशासन र भौतिक सुविधामा उदाहरण प्रस्तुत गरेकाले धेरै गाउँका बालबालिका यहाँ पढ्न आउने गरेका छन्। विद्यालयका शौचालय, खानेपानीजस्ता पूर्वाधारलाई समेत बालमैत्री बनाउन सफल भएको छ।

तोलीदेवलडाँडा माविको प्रयासले बाजुराको शैक्षिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको अभिभावक र विद्यार्थीले बताइरहेका छन्।