सुदूरपश्चिममा रेबिजको संक्रमण तीव्र, सबैभन्दा बढी कैलालीमा

कैलाली। सुदूरपश्चिममा रेबिजको संक्रमण वर्षैपिच्छे तीव्र बन्दै गएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १७० नमुनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी संक्रमण कैलालीमा भेटिएको छ, जहाँ ९८ मध्ये ७८ नमुना पोजिटिभ देखिएका छन्। त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ र बझाङमा संकलित तीन नमुनामध्ये सबैमा संक्रमण पुष्टि भएको छ।
संक्रमण फैलाउने मुख्य स्रोत कुकुर रहेको जोशीले बताए। परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा रेबिज भेटिएको छ। यस्तै भैंसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बंगुरका सातमध्ये पाँच र खरायोको एक नमुनामा समेत पोजिटिभ देखिएको छ।
२०७६/७७ बाट सुरु गरिएको अन्वेषण अनुसार सुरुमा दुईवटा मात्र पोजिटिभ पाइएका नमुना २०७९/८० मा ३९, २०८०/८१ मा १५७ र चालु वर्ष फेरि १३६ पुगेको छ। यसले संक्रमण बढ्दो क्रममा रहेको देखाउँछ।
“रेबिज एकपटक लागेपछि उपचार सम्भव छैन, त्यसैले रोकथाममै जोड दिनुपर्छ,” चिकित्सक जोशीले भने। उनका अनुसार संक्रमण भएपछि पानी पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, ज्वरो आउने, स्मरण शक्ति हराउनेजस्ता लक्षण देखिन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसमा ९५ प्रतिशत अफ्रिका र एसियामा हुने गरेका छन्। नेपालमै हरेक वर्ष करिब एक लाख मानिस जनावरको टोकाइमा पर्ने र १५ देखि ३६ जनाको मृत्यु हुने तथ्याङ्क छ।
जोशीका अनुसार सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके नेपालमा पनि रेबिज नियन्त्रण सम्भव हुन्छ। विश्व रेबिज दिवस २०२५ का अवसरमा धनगढीस्थित प्रयोगशालाले सामुदायिक कुकुरलाई खोप लगाउने अभियान चलाएको छ।
तपाईको प्रतिक्रिया