सुदूरपश्चिमका भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध छ : उपकुलपति डा. टी एन जोशी     

कैलाली जनपुस्तकालयको दुई कार्यकालमा उत्कृष्ट नेतृत्व  

आइतबार असोज १२, २०८२/ Sunday 09-28-25
Paschim Today

खेम राज उपाध्याय, धनगढी १२ असोज । सुदूरपश्चिमका सबै भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला,    नाट्यकला, संगीतको संरक्षण, सम्बद्र्धन र विकास सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको  उपकुलपति डा. टी.एन जोशीले बताएका छन् । 


उपकुलपति डा. जोशीले पश्चिम टुडे संग कुरा गर्दै सुदूरपश्चिमका सबै भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण, सम्बद्र्धन र विकास गर्नका निम्ति सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापन गरिएको कुरा बताए । 
उनले प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति दर्शन तथा सामाजिक शास्त्रको अनुसन्धान एवं मौलिका सृजनाका माध्यमद्वारा समाजोपयोगी कृतिहरु तयार गरी प्रकाशित तथा विमोचन गर्नुका साथै यस क्षेत्रका विद्वान तथा प्रतिभाहरुको कदर गर्दै सम्मान गरिएको जानकारी दिए ।  
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन गराएर प्रतिष्ठानले खोजमूलक कृति, सुदूरपश्चिममा रही छन्दमा कलम चलाउने कविहरूका उत्कृष्ट कविता छनौट गरी छन्द सागर कृति, लोकसंस्कृति र लोककथा, अनुसन्धानमूलक ग्रन्थ सगुन र सुदूरपश्चिमको संस्कृति सङ्ग्रह प्रकाशन गरेको छ ।  


सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले चाँडै सुदूरपश्चिमका स्रष्टाहरूको परिचय कोष र डोटी राज्यको इतिहास पनि प्रकाशन गर्न लागेको उपकुलपति जोशीले बताए।
न्युन बजेट र जनशक्तिको अभाबका बिच सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक र सांस्कृतिक कर्ममा आफूलाई निरन्तर अगाडि बढाएको छ। 

#कैलाली जनपुस्तकालयको दुई कार्यकालमा उत्कृष्ट नेतृत्व  
नेपालकै सबैभन्दा पुरानो वि.सं २०१४ सालमा स्थापना भएको सुदूरपश्चिमकै प्रमुख सार्वजनिक पुस्तकालय कैलाली जनपुस्तकालयमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले आफ्नो दुई कार्यकाल ऐतिहासिक रुपमा काम गर्दै विदा भएका छन् । 

डा. जोशीको नेतृत्वमा झण्डै डेढ करोडको लागतमा तीन तले स्मार्ट लाइब्रेरी भवन निर्माण भएको छ भने झण्डै चालिस लाखको लागतमा अत्याधुनिक सभाकक्ष निर्माण भइ सञ्चालनमा रहेको छ ।
डा.जोशीको सफल नेतृत्वले पुस्तकालयलाई राष्ट्रिय उचाइमा पुर्याउन सफल भएको छ। उनको कार्यकालमा १८ ओटा राष्ट्रियस्तरका साहित्यिक/सामाजिक पुरस्कार स्थापना भएका छन् भने हाल आम्दानीको स्रोत मासिक झण्डै तीन लाख पुगेको छ । आजीवन सदस्यको संख्या आठ सय बीस पुगेको छ।  


कैलाली जनपुस्तकालयको वर्तमान  स्वरूप निर्माणमा डा. जोशीको अतुलनीय योगदान रहेको साहित्यकर्मी, लेखक, संस्कृतिविद्हरु बताउँछन्। डा. जोशीले समाजका लागि गरेको प्रशंसनीय कार्यको सबैले प्रशंसा गरेका छन्।
यस अघि, कैलाली जनपुस्तकालयको ४८ औं साधारण सभा तथा चुनाबी अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्ष पदमा शिवराज ओझाले नयाँ नेतृत्व पाएका छन् ।