डोटीमा प्रहरी जवान मृत फेला, स्थानीयले गरे राजमार्ग अवरुद्ध
शनिबार असोज १८, २०८२/ Saturday 10-04-25
Paschim Today

डोटी।डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन्।शिखर नगरपालिका-८ तिलतालीका प्रहरी जवान शङ्कर बलायर शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन्।
केआई सिंह राजमार्ग अन्तर्गत गोपघाट नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बलायरको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा गृह जिल्ला आएका थिए।
घटनापछि स्थानीयले सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै केआई सिंह राजमार्ग अवरुद्ध गरेका छन्।प्रहरीको टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिन प्रयासरत छ।
तपाईको प्रतिक्रिया