सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ पक्राउ

सोमबार असोज २०, २०८२/ Monday 10-06-25
Paschim Today

धनगढी: गत भदौमा जेन्जी आन्दोलनको क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब एक हजार कैदीबन्दीलाई पक्राउ परेका छन्। भदौ २४ गते जेन्जीहरूको प्रदर्शनका क्रममा भागेका ९७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी कार्यालयले कैलाली सहितका विभिन्न कारागारबाट भागेका ९४१ र बाल सुधार गृह डोटीबाट भागेका ३६ गरेर ९७७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको जनाएको छ। सुदूरपश्चिमका नौ जिल्ला कारागार शाखा र एक बाल सुधार गृहबाट नभागेका २९६ जनासमेत गरेर अहिले एक हजार दुई सय ७२ जना कैदीबन्दी कारागारमा राखिएका छन् ।

अब बाल सुधार गृह र विभिन्न कारागारबाट भागेका ४८१ जना कैदीबन्दीलाई पक्राउ गर्न बाँकी रहेको छ। जेन्जी आन्दोलनका दिन कैलाली कारागारबाट ६६६ जना कैदीबन्दी भागेका थिए। जसमध्ये जम्मा ३४१ जना कैदीबन्दीलाई मात्रै नियन्त्रणमा लिएको छ।

जिल्ला कारागार कन्चनपुरका ४५८ मध्ये ३४५, बझाङ्ग कारागारका ५३, डडेल्धुरा कारागारका ८० जना , बैतडी कारागारका ५९ ,दार्चुला कारागारका ६३ र बाल सुधार गृहका ३६ कैदीबन्दीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार डोटी बाजुरा र अछामबाट भने कैदीबन्दी भागेका थिएनन् । कतिपय कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्किए पनि धेरैजसो कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएको हो।