महेश बस्नेतसँग साइबर ब्युरोले लियो बयान

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग बयान लिएको छ ।
साइबर क्राइमको आरोप लागेका बस्नेत बुधबार बिहान आफैं ब्युरोमा बयानका लागि हाजिर भएका थिए । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बस्नेत आफैं ब्युरोमा पुगेर बयान दिएका हुन् ।
मंगलबार मात्रै प्रहरीको केन्द्रीय साइबर ब्युरोले बस्नेतलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियाे तर अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको थियाे । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सरकारी वकिल कार्यालयको निर्देशन अनुसार थप प्रमाण बुझेर मात्र पेस गर्न आदेश गरेको हाे ।
शोभा पाठकले दर्ता गरेको विद्युतीय कारोबार ऐन अन्तर्गतको जाहेरी यसअघि ब्यूरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई सङ्केत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्यूरोलाई निर्देशन दिएको थियो ।
तपाईको प्रतिक्रिया