महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने देउवा समूहको निर्णय

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।

संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाराजगञ्ज बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिए । ‘जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ,’ उनले भने, ‘शुक्रबारसम्म निवेदन दर्ता हुन्छ ।’

अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतर समूहको भनाइ छ ।

तर, पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।