अटो दुर्घटनामा घाइते डोटीकी ५५ वर्षीया महिलाको उपचार क्रममा मृत्यु

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26
Paschim Today

धनगढी । डोटीको केआई सिंह गाउँपालिका–४ बास्कोटमा बिहीबार साँझ भएको अटो दुर्घटनामा परी गम्भीर घाइते भएकी ५५ वर्षीया लछु ऐरको उपचारका क्रममा मृत्यु भएको छ । 

धनगढी लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

दिपायल बोगटान सडकखण्डअन्तर्गत बास्कोटमा ४ः२० बजेको समयमा ब्रेक फेल भएर अटो सडकबाट नालीमा पल्टिएको थियो ।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । गम्भीर घाइते लछु ऐरलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको थियो । तर, अस्पताल पुर्‍याउन नपाउँदै शिखर नगरपालिका–१ कालागाडस्थित सडकखण्डमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य चार जनाको राजपुरस्थित सेती महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार अटोमा पाँच जना सवार थिए । पहाडी सडकको अवस्था र सवारीसाधनको क्षमतालाई ध्यान नदिई क्षमताभन्दा बढी यात्रु सवार गराउँदा दुर्घटनाको जोखिम थप बढ्न सक्ने देखिन्छ । यद्यपि दुर्घटनाको यकिन कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।