सुदूरपश्चिम समाज अमेरिका, न्युयोर्कद्वारा बाढीपीडितका लागि तीन लाख सहयोग

शुक्रबार भदौ १२, २०८३/ Friday 08-28-26
Paschim Today

न्युयोर्क — भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिम समाज अमेरिका, न्युयोर्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

समाजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको यस घडीमा नेपाल सरकार र बाढी प्रभावित नेपालीको साथमा रहेको जनाएको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको तथा कैयौँ परिवार विस्थापित भएको उल्लेख गर्दै समाजले प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा तीन लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

समाजका अध्यक्ष नविन ओझाले प्राकृतिक विपत्तिको यस कठिन समयमा देश तथा विदेशमा रहेका सबै नेपालीको सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताए। उनले बाढी प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो क्षमता र सामर्थ्यअनुसार सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

समाजले बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीनहरूको सकुशल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।