शव पहिचान र व्यवस्थापनमा सकस
काठमाडौं। रसुवा बाढीका कारण मृत्यु भएकाहरूको शव पहिचान र व्यवस्थापनमा सकस देखिएको छ।
अस्पतालहरूसँग शव व्यवस्थापनको क्षमता पर्याप्त छैन। शवको प्रारम्भिक रूपमै पहिचान भएको खण्डमा सम्बन्धित स्थानीय तहका प्रतिनिधि र स्थानीय नागरिकको रोहवरमा सम्बन्धित हकवालालाई-आफन्तलाई प्रहरीको अनुसन्धान सकेर शव हस्तान्तरण गरिन्छ तर मृत्युको कारण शंकास्पद देखिए प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही हुन्छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै रसुवा बाढीबाट संकलन भएका पहिचान नभएका तथा बेवारिसे शवहरू भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा जमिनमुनि व्यवस्थापन गर्ने जनाएको हो।
प्रशासनका अनुसार हालसम्म यस जिल्लाबाट संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएका छन् भने २२५ वटा शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदीबाट संकलन भएका शव तथा शवका अवशेष सडेगलेका कारण अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।
यस्ता शव लामो समयसम्म राखिरहँदा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेकाले सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।
निर्णयअनुसार सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि पहिचान नभएका तथा बेवारिसे शवहरू जमिनमुनि व्यवस्थापन गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा उक्त निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
अस्पताल पुगेका र पहिचान नखुलेका शवको फरेन्सिक वा विशेषज्ञ चिकित्सकले अनुसन्धान कार्य अगाडि बढाउँछन्, जसमा सम्भव भएसम्म नेपाल सरकारको अभिलेखमा भएको बायोमेट्रिक औंठा छाप वा आइरिस रुजु गरी पहिचान गरिन्छ। अस्पतालमा हस्तरेखा, औंठा छाप, दाँतको तुलना, फरेन्सिक रेडियोलोजी, फरेन्सिक एन्थ्रोपोलोजी, डिएनए, आइरिस स्क्यानजस्ता परीक्षणमार्फत शव पहिचानको प्रयास गरिन्छ।
पहिचान नभएका शवको जाँच गरी तीन संकेत राखिन्छ। हरियो संकेतले संक्रामक क्षमता नभएको शव भन्ने बुझाउँछ। पहेंलो संकेतले संक्रामक क्षमता भएको शव जनाउँछ। रातो संकेतले संक्रामक क्षमता उच्च भएको बुझाउँछ।
अस्पतालमा अनुसन्धान हुँदै गर्दा नेपाल प्रहरीको अनुसन्धानमा कार्यरत प्रहरीले बाहिरी अनुसन्धान कार्य गरिरहेका हुन्छन्, जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, यातायात व्यवस्था विभाग आदिसँग सुरक्षित रहेका औंठाछापसँग रुजु गरी सनाखत प्रक्रिया अगाडि बढाइन्छ।
त्यस्तै मृतकको शरीरिक लक्षण, लत्ताकपडा, फोटोग्राफ, परिचयपत्रलगायत विवरणसँग हराइरहेको वा मृत्यु भइसकेको भनिएकाहरूको सूचनाबिच रुजु गरी मृत शरीरको सनाखत गर्न कोसिस गरिन्छ। कुनै शव पहिचान हुन नसकेको खण्डमा सम्बन्धित प्रहरी कार्यालयले शवको उपलब्ध भएसम्मको विवरण र पहिचानका लागि गरिएका कारबाहीको विवरण उल्लेख गरी पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समितिमा पुर्याई शवको भण्डार तथा संरक्षणस्थलमा पठाइन्छ।
शवको भण्डारण प्रायः नजिकको संघीय, प्रादेशिक र स्थानीय तहका अस्पताल, सामुदायिक अस्पताल र सरकारी एवं सामुदायिक रूपमा सञ्चालित शवगृहमा गरिन्छ। त्यस्तै समितिको सिफारिसमा स्थानीय रूपमा शव संरक्षण गर्न तोकेको वा समितिले तोकेको अन्य उपयुक्त स्थानमा राखिन्छ।


-1200x5602026-08-29-03-40-17.jpeg)


-1200x5602026-08-29-03-14-25.jpeg)

तपाईको प्रतिक्रिया