छाउगोठ भत्काए मात्रै रास्वपाको टिकट, नत्र जिम्मेवारीबाट हटाइने
कैलाली । सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कैलालीले आफ्नै पार्टीका पदाधिकारी तथा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको घरबाट छाउगोठ हटाउन अभियान थालेको छ।
पार्टीको कैलाली जिल्ला समितिले आफ्ना जिम्मेवार पदाधिकारी तथा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको घरमा छाउगोठ कायम रहेको पाइएमा एक महिनाभित्र भत्काउनुपर्ने निर्णय गरेको हो। तोकिएको अवधिभित्र छाउगोठ नभत्काए त्यस्ता व्यक्तिलाई आगामी निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस नगर्ने र पार्टीको जिम्मेवार पदमा रहेकालाई उक्त जिम्मेवारीबाट हटाउने निर्णय गरिएको रास्वपा कैलालीका जिल्ला सभापति कविन्द्र ठकुल्लाले बताए।
उनका अनुसार, भदौ ७ गते चुरे गाउँपालिकामा बसेको जिल्ला समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअघि जिल्लाभर पार्टीका पदाधिकारी तथा सदस्यका घरमा छाउगोठको अवस्था खोजी गरिएको थियो। खोजीका क्रममा धनगढीका केही बस्तीमा समेत छाउगोठ भेटिएको उनले बताए।
‘हामीले जिल्लाभर खोजी गर्यौं। धनगढीमै पनि छाउगोठ भेटियो। चुरे र मोहन्यालमा अझै पनि करिब ५० प्रतिशतजति छाउगोठ रहेको अवस्था पाइयो,’ सभापति ठकुल्लाले भने, ‘त्यसपछि आफ्नै संगठन र आफ्नै घरबाट अभियान सुरु गर्ने निर्णय गरेका हौं।’
उनका अनुसार निर्णयपछि केही पार्टी सदस्य तथा पदाधिकारीले छाउगोठ भत्काइसकेका छन् भने केहीले भत्काउने काम सुरु गरेका छन्। बाँकी घरको अवस्थाबारे पार्टीले विवरण संकलन गरिरहेको छ।
ठकुल्लाले पार्टीले सामाजिक कुरीतिविरुद्ध सार्वजनिक रूपमा आवाज उठाउने मात्र नभई त्यसको अभ्यास आफ्नै संगठनबाट सुरु गर्न खोजेको बताए। ‘यो कुनै व्यक्ति वा समुदायलाई लक्षित गरिएको होइन। हामीले सामाजिक कुरीति अन्त्य गर्ने हो भने सुरुवात आफ्नै घर र आफ्नै संगठनबाट गर्नुपर्छ भन्ने उद्देश्य हो,’ उनले भने।
कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा पहाडी क्षेत्रबाट बसाइँ सरेर आएका केही परिवारमा समेत छाउगोठ कायम रहेको पाइएको पार्टीको दाबी छ। धनगढीका केही बस्तीमा समेत केही दिनअघि छाउगोठ भत्काउने विषयमा विवाद भएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लामा भने छाउपडी प्रथा अझै चुनौतीका रूपमा रहेको छ।
छाउगोठमा बस्दा सर्प तथा अन्य विषालु जीवजन्तुको टोकाइ, चिसो–तातो मौसम, स्वास्थ्य समस्या र सुरक्षाका जोखिम हुने गरेका छन्। विगतमा छाउगोठमा बसेकै अवस्थामा महिलाको मृत्यु भएका घटनासमेत सार्वजनिक भएका छन्।
रास्वपा कैलालीले छाउपडीविरुद्धको अभियानसँगै अन्य सामाजिक कुरीति र जिल्लामा रहेका अधुरा तथा अलपत्र संरचनाको अवस्थाबारे खोजी गर्ने अभियानसमेत सञ्चालन गर्ने जनाएको छ। अधुरा संरचनाको खोजी गरी जिम्मेवार निकायलाई जवाफदेही बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको ठकुल्लाले बताए।
त्यस्तै, पार्टीले ‘एक पालिका ५० रक्तदाता अभियान’ सञ्चालन गर्ने र सामाजिक विकृति तथा कुरीतिविरुद्ध थप अभियान अघि बढाउने तयारी गरेको छ। सार्वजनिक तथा सामाजिक जीवनमा देखिएका विकृति अन्त्यका लागि विभिन्न अभियान सञ्चालन गर्ने योजना रहेको उनले बताए।







तपाईको प्रतिक्रिया