कैलाली विद्या निकेतन धनगढीको २७औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26
Paschim Today

धनगढी २ असोज।  कैलाली विद्या निकेतन, धनगढीको २७औँ स्थापना दिवसको अवसरमा बुधबार विद्यालय प्राङ्गणमा ‘विद्यार्थीसँग साहित्यिक भलाकुसारी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बालसाहित्य समाजका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ बालसाहित्यकार विजयराज आचार्यले विद्यार्थीसँग साहित्यका विभिन्न विधा, लेखनका सैद्धान्तिक पक्ष तथा आफ्ना लेखन अनुभवबारे गहन धारणा राख्नुभएको थियो। उहाँले बालसाहित्यको महत्व, सिर्जनात्मक लेखन तथा साहित्य सिर्जनाका विविध पक्षबारे विद्यार्थीसँग अन्तरक्रिया गर्नुभएको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले साहित्य लेखन तथा सिर्जनासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए। बालसाहित्यकार आचार्यले विद्यार्थीका प्रश्नहरूको सरल र रोचक शैलीमा जवाफ दिँदै उनीहरूलाई साहित्यप्रति अभिरुचि बढाउन प्रेरित गर्नुभएको थियो। 

अत्यन्तै रोचक र अन्तरक्रियात्मक शैलीमा सञ्चालन भएको साहित्यिक भलाकुसारी कार्यक्रमले विद्यार्थीमा उत्साह र सिर्जनात्मक ऊर्जा थपेको विद्यालयले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व तथा सहभागीप्रति विद्यालयले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल टोपेन्द्र शाहले जानकारी दिनुभएको हो।