आधारभूत तह स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
धनगढी ४ असोज । वक्तृत्वकला प्रतियोगिता सम्पन्न संविधान दिवस २०८३ को अवसरमा कैलाली जनपुस्तकालय, धनगढीले आयोजना गरेको आधारभूत तह स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
‘पुस्तकालयको महत्त्व’ शिर्षकमा आयोजित प्रतियोगितामा मिलन विद्या निकेतन, जुगेडा, धनगढीकी छात्रा बिहानी जोशी प्रथम भएकी छिन । प्रतियोगितामा डिस्कभरी इङ्लिस बोर्डिङ स्कुलकी छात्रा रितिका उपाध्याय द्वितीय, शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलका छात्र रिदम महरा तृतीय भएका छन् । यसैगरी थ्रीस्टार इङ्लिस बोर्डिङ स्कुलकी छात्रा सभ्यता पोखरेलले सान्त्वना स्थान हासिल गरेकी छिन । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाभित्रका २८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थी गरी एक सयभन्दा बढीको उपस्थिति रहेको कुरा पुस्तकालयका सहग्रन्थपाल रघुनाथ जोशिले जानकारी दिनुभएको छ ।
.jpg)
कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा शैक्षिक व्यक्तित्व सूर्यप्रसाद जोशी प्रमुख अतिथि रहेका थिए। पुस्तकालयका प्रबन्ध समिति सदस्य राधा कुमारी फुलाराले सञ्चालन गरेको कार्यक्रममा पुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तोयनाथ भट्ट, साहित्यकार धर्मराज जोशी, शिक्षाप्रेमी पूर्णानन्द जोशी लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा खेम बतास, शेरबहादुर बिष्ट र सरिता जोशी रहेका थिए। यस प्रतियोगितालाई यसअघि १९औँ राष्ट्रिय पुस्तकालय दिवस २०८३ को अवसरमा आयोजना गर्ने तय गरिएको थियो। तर भोटेकोशीमा आएको बाढीका कारण देश शोकमा रहेको समयमा प्रतियोगिता स्थगित गरिएको थियो। स्थगित प्रतियोगिता संविधान दिवसको अवसर पारेर आज आयोजना गरिएको हो।
कैलाली जनपुस्तकालयले विद्यार्थीहरूमा वक्तृत्वकला, सिर्जनशीलता, पठन संस्कृति तथा पुस्तकालयप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न राष्ट्रिय दिवस तथा विशेष अवसरमा यस्ता शैक्षिक तथा साहित्यिक प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको कुरा प्रबन्ध समिती सदस्य डिल्लिराज ओझा समर्पणले जनाउनुभएको छ ।




-1200x5602026-09-21-02-16-27.jpeg)


तपाईको प्रतिक्रिया