'सुदूर अब दूर नाइँ झिक्कै झिक्कै माया तम्लाई' भन्दै घर फर्किने वातावरण मिलाइयोस् : सांसद अवस्थी

सोमबार असोज ५, २०८३/ Monday 09-21-26
Paschim Today

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आकृति अवस्थीले काठमाडौंबाट सुदूरपश्चिम प्रदेश राजधानी धनगढी जाने हवाइ भाडा घटाउन माग गरेकी छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद अवस्थीले भारतको राजधानी दिल्ली पुग्न सस्तो तर नेपालकै सुदूरपश्चिम पुग्न महंगो भाडा भएको भन्दै आपत्ति जनाएकी हुन् । 'भारतको राजधानी दिल्ली पुग्न सस्तो आफ्नै सुदूरपश्चिम पुग्न महंगो । दिल्ली भन्दा सुदूरपश्चिमलाई सस्तो बनाइदिनुहोला,' उनले भनिन्, 'सुदूर अब दूर नाइँ झिक्कै झिक्कै माया तम्लाई भन्दै घर फर्किने वातावरण मिलाइयोस् ।' 

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा चुनावको प्रचारका क्रममा 'सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया' भनेर सामाजिक संजालमा लेखेका थिए । रास्वपाका सांसद अवस्थीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदमा दोहोर्‍याएकी हुन् । 

सांसद अवस्थीले एयरलाइन्स कम्पनीहरूलाई पनि नागरिकमाथि हवाइ भाडा महंगीको भार नथोपर्न आग्रह गरेकी छन् । उनले भनिन्, 'महंगो भाडाबाट उम्किने आपतकालीन द्वार नै विमानमा छैन । दसैं आयो भाडा बढ्यो, बाढीपहिरो आयो सडक बन्द भयो झन् बढ्यो । एरलाइन्सले यसलाई डिमान्ड एन्ड सप्लाइ भन्ला तर नागरिकले यसलाई बाध्यताको मूल्य भन्छ ।'