एक महिनामै २ खर्ब १५ अर्ब बढी रेमिट्यान्स भित्रियो
काठ्माडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार साउनमा मात्रै सवा २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत आर्थिक वर्षको सोही महिनामा जम्मा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकको सो तथ्यांकमा उल्लेख छ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। खुद द्वितीय आय भन्नाले दुई देशका वासिन्दाबिच कुनै वस्तु वा सेवा आदानप्रदान नगरी एकतर्फी पमा हुने रकमको लेनदेनको खुद हिसाब हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति–संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति ) लिने नेपाली कामदारको संख्या ४२ हजार ६९३ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७४८ जना रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ जना र २३ हजार ६४४ जना रहेको थियो।
यसै गरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको थियो।
यस अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७१.० प्रतिशत, २८७.८ प्रतिशत र १८.१ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिष्टर धागो, जुटका सामान, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा निरन्तर महँगी बढ्न थालेसँगै विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवा आयात धान्ने क्षमता घटेको राष्ट्र बैंकले औल्याएको छ। साउनमा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगे पनि वस्तु तथा सेवा आयात धान्ने क्षमता घटेको छ।
असार मसान्तको विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था रहेकामा त्यो क्षमता अहिले क्रमशः २१.८ महिना र १८.८ महिनामा झरेको राष्ट्र बैंकको तथ्यांक विवरणमा उल्लेख छ।
डलर सञ्चिति बढे पनि मूल्यवृद्धिले बाहिरिने डलर बढ्दा वस्तु तथा सेवा आयात गर्ने क्षमता घटेको हो। अघिल्लो महिना असारको तुलनामा साउन मसान्तमा डलर ०.९ प्रतिशतले अधिमूल्यन भएको छ। साउनमा आयात ३१.०१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
गत वर्ष प्रतिब्यारल कच्चा पेट्रोलियम पदार्थको मूल्य ६७.३० अमेरिकी डलर रहेकामा अहिले ३६.७ प्रतिशतले बढेर ९२.०२ डलर कायम भएको छ। सोही कारण महँगी ५.९६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको भाउ ६.७७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको साउनमा महँगी जम्मा १.६८ प्रतिशतले मात्र बढेको थियो। साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ तथा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा छ।
यसैगरी साउन महिनामा चालु खाता ९४ अर्ब ५९ करोड र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड बचतमा रहेको छ। यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब १ करोड भित्रिएको छ।
साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेको छ। पहिलो महिना २० अर्ब ७१ करोडले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ तर वार्षिक बिन्दुगत आधारमा भने निक्षेप १४.५ प्रतिशतले बढेको छ।
यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.४ प्रतिशत २३ अर्ब ५८ करोडले बढेर ५० खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । वार्षिक बिन्दुगत आधारमा कर्जा विस्तार ७.० प्रतिशत रहेको छ। बैंकिङ प्रणालीमा ब्याजदर उल्लेख्य रूपमा घटेको छ।
वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर अघिल्लो वर्षको साउनमा ७.७६ प्रतिशत रहेकोमा यस अवधिमा ब्याजदर घटेर ६.४८ प्रतिशत कायम भएको छ। यस्तै निक्षेपको औसत ब्याजदर ४.०२ प्रतिशतबाट घटेर ३.१५ प्रतिशतमा झरेको छ। बैंकहरूको औसत आधार दर पनि ५.७८ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा सीमित भएको छ। अन्तर बैंक ब्याजदर भने २.७५ प्रतिशतमा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।






तपाईको प्रतिक्रिया