बैतडीमा स्क्रब टाइफसका बिरामी बढे

बुधबार असोज १४, २०८३/ Wednesday 09-30-26
Paschim Today

बैतडी। गर्मीयाम सुरु भएयता बैतडीमा स्क्रब टाइफसका बिरामी बढेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै बैतडीमा १३९ जना स्क्रब टाइफसका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ ।

स्क्रब टाइफस किशोरदेखि वृद्धवृद्धासम्ममा देखिएको छ । जिल्लाका दस स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी एवं तथ्यांक अधिकृत खगेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलासैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएका सूचना अधिकारी कार्कीले बताए ।

गत दुई वर्षको तथ्यांक हेर्ने हो भने बैतडीमा स्क्रब टाइफसका बिरामी प्रत्येक वर्ष बढिरहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १३६ जना बिरामी भेटिएका थिए भने गत वर्ष त्यो संख्या बढेर ३९४ पुगेको छ ।

निरन्तर र धेरै ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, धेरै पसिना आउने, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, झाडापखाला लाग्ने र किराले टोकेको ठाउँमा नदुख्ने कालो पाप्रोजस्तो घाउ देखिनु स्क्रब टाइफसका लक्षण हुन् ।

विशेषगरी वर्षायाममा यो रोग बढी फैलिने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टले बताए । अहिले जिल्लाका सबै स्थानीय तहमा भेटिएका केही बिरामी निको भएका छन् भने केहीको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

जिल्लाका सबै स्वास्थ्य संस्थामा स्क्रब टाइफसको औषधिको समस्या नरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।