अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्दै अर्थमन्त्री

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26
Paschim Today

काठमाडौँ - अर्थमन्त्री स्वर्णिम वाग्लेले अमेरिकाका अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने भएका छन् । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका मन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

भेटमा नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण,  फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा पनि  छलफल हुनेछ । हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग अर्थमन्त्री वाग्लेले कुरा गर्नेछन् ।

साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले डीएफसीका उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।