विद्यार्थी राजनीतिदेखि रास्वपासम्म, को हुन् पवन सुनार ?

शनिबार कार्तिक १, २०८३/ Saturday 10-17-26
Paschim Today

धनगढी । विद्यार्थी राजनीतिबाट उदाएका पवन सुनार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । तत्कालिन माओवादी निकट अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गरेका सुनारले पुरानो पार्टीमा आफूहरूसँग भएको क्षमता उपयोग हुन नसकेको बताउँदै नयाँ राजनीतिक यात्राको सुरुवात गरेका हुन् ।

धनगढीस्थित रास्वपा सुदूरपश्चिम प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनलाई पार्टीमा भव्यताका साथ स्वागत गरिएको हो ।  कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइराला, क्षेत्र नम्बर २ का सांसद केपी खनाल र सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले उनलाई स्वागत गरेका थिए ।

सुनार २०७९–२०८२ सालमा कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका उम्मेदवार थिए । विद्यार्थी राजनीतिमा सक्रिय उनी पछिल्लो समय ‘जेनजी रेडफोर्स’ को सुदूरपश्चिम संयोजकका समेत जिम्मेवारी निभाएका थिए । सुनार ‘ जेनजी रेड फोर्स नेपाल’ को केन्द्रीय निर्वाचन परिचालन समितिको कमान्डरको जिम्मेवारीमा समेत रहेका थिए ।

नेकपामा युवा नेताको राम्रो पकड बनाएका सुनार रास्वाि प्रवेस गरेपछि नेकपा सुदूरुपश्चिममा तरंग पैदा भएको छ । पार्टी प्रवेशबारे पत्रकारको प्रश्न पछि आफ्नो धारणा राख्दै सुनारले नयाँ राजनीतिक यात्राको उद्देश्य अवसर प्राप्त गर्नु मात्रै नभई क्षमताको उपयोग गर्दै सामूहिक रूपमा संगठन निर्माण गर्नु रहेको बताए ।

‘पुरानो पार्टीले हामीसँग भएको क्षमतालाई पूर्ण रूपमा उपयोग गर्न सकेन । हामीलाई चलाउन सक्ने डाइनामिक नेतृत्व चाहियो,’ उनले भने । उनका अनुसार पुराना राजनीतिक संगठनभित्र एकअर्कालाई अगाडि बढाउनुभन्दा प्रतिस्पर्धीलाई रोक्ने प्रवृत्ति देखिएको छ । 

आफूहरू व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको जितलाई प्राथमिकता दिने सोचका साथ रास्वपामा आएको उनको भनाइ छ । ‘हामी एकले अर्काको खुट्टा काट्न चाहँदैनौँ । हातमा हात र काँधमा काँध मिलाएर संगठन कसरी जित्छ भन्ने कुरामा एकबद्ध भएर लाग्न चाहन्छौँ,’ सुनारले भने ।

सुनारले पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा हुनुपर्नेमा पनि जोड दिए । आफूहरूलाई कुनै पद वा जिम्मेवारी सुनिश्चित गरिनुपर्ने माग नरहेको स्पष्ट पार्दै उनले क्षमताका आधारमा प्रतिस्पर्धा गर्ने अवसरको अपेक्षा गरेको बताए ।

‘हामीलाई खेलको मैदानमा उत्रिने वातावरण दिनुस्, तपाईंहरू रेफ्री बन्नुस् र फेयर गेम खेलाउनुस्,’ उनले भने, ‘हामी सक्षम भयौँ भने नेतृत्व गर्छौँ । हामीभन्दा अरू सक्षम हुनुहुन्छ भने उहाँहरूलाई काँधमा बोकेर हिँड्न तयार छौँ ’
सुनारले रास्वपामा प्रवेश गर्नुको अर्को उद्देश्य आफूले विद्यार्थी राजनीति र संगठनमा सिकेका अनुभव तथा ज्ञानलाई उपयोग गर्नु रहेको बताए ।

पार्टीका अग्रज नेताहरूबाट पनि सिक्ने अवसर प्राप्त हुने उनको अपेक्षा छ । उनले सांसद खेमराज कोइरालाको प्राध्यापन अनुभव र सांसद केपी खनालको सामाजिक कार्यबाट सिक्न सकिने उल्लेख गर्दै सहकार्य र सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।

सुनारले आगामी दिनमा युवाहरूलाई पार्टी संगठनमा सक्रिय बनाउँदै गाउँ, बस्ती र टोलसम्म रास्वपाको संगठन विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । व्यक्तिगत महत्वाकांक्षाभन्दा सामूहिक प्रयासबाट पार्टीलाई बलियो बनाउने उनको भनाइ छ ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका सुनार रास्वपाको यात्रा नयाँ अवसरसँगै चुनौती पनि भएको बताउँछन् । पार्टी भित्र निष्पक्ष प्रतिस्पर्धा, क्षमताको उपयोग र सामूहिक नेतृत्वको अभ्यास प्रभावकारी हुनुपर्ने उनको बुझाइ छ । हास्यव्यंग्य सहित नेपालको समसायिक राजनीतिमा कलम चलाउने सुनार साहित्यमा पनि रुचि राख्छन् ।

रास्वपा प्रवेश पछि सुनारले आउदाँ स्थानियतहको निर्वाचनमा मैदानमा उत्रिने संकेत गरेका छन् ।