छठ पर्व सुरु: आज पहिलो दिन व्रतालु माछा र कोदोका परिकार बार्दै

बिहीबार कार्तिक २७, २०८३/ Thursday 11-12-26
Paschim Today

महोत्तरी: अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ। यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार वर्जित गरी व्रतको तयारी थाल्छन्।

त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक घरमा सख्खर हाल-बनाइएको खिर कुलदेवता र छठी मातालाई अर्पण गरी खरना विधि मनाइने छ।

यस वर्ष पर्वअन्तर्गतको मुख्य पूजा आइतबार साँझ गरिनेछ, जसलाई 'सझुका अर्घ्य' भनिन्छ। यस दिन दिनभर उपवास बसेका व्रतालुहरू साँझको समयमा अस्ताउँदो सूर्यलाई घरमा बनाइएका ठेकुवा ,भुसुवा लगायतका प्रसाद सामग्रीसहित जलाशयमा गई अर्घ्य अर्पण गर्नेछन्।

पर्वको समापन भने सोमबार अर्थात् 'पारणा'का दिन हुनेछ। यस दिन उदाउँदो सूर्यलाई अघिल्लो साँझ झैँ विधिपूर्वक अर्घ्य दिएर व्रत समापन गरिन्छ। त्यसपछि घर फर्किएर इष्टमित्र तथा परिवारजनलाई प्रसाद वितरण गर्ने परम्परा छ।

यता, विभिन्न स्थानीय तहहरूले छठघाट निर्माण तथा सरसफाइका लागि तीव्र तयारी गरिरहेका छन्। मिथिलाञ्चलमा तिहारलगत्तै मनाइने छठलाई दोस्रो ठूलो पर्वको रूपमा हर्षोल्लासका साथ मनाइन्छ।