बडीकेदार मेलामा दुई लाख भक्तजन आउने अनुमान, धनगढीबाट निःशुल्क बस
धनगढी । डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार धाममा मंसिर ६ गते देखि मेला लाग्दैछ । मेलामा भक्तजनको सहभागिता सहज बनाउन पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढीबाट सात वटा निःशुल्क बसको व्यवस्था गरेका छन् । मंसिर ६ गते बिहान ५ बजे धनगढीका विभिन्न स्थानबाट छुट्ने बसमा आले आफैँ पनि भक्तजनसँगै बडीकेदार जाने भएका छन् ।
बडीकेदार धामको दर्शन गर्न चाहने श्रद्धालुलाई यातायातको सहज सुविधा उपलब्ध गराउने उद्देश्यले उनले बसको व्यवस्था मिलाएका हुन् । धनगढीको फूलबारी डीपीओ बजार, शहीद गेट, क्याम्पस चोक, बसपार्क र राजपुर चोकबाट एक–एक तथा हसनपुर पीपल चौताराबाट दुई वटा बस छुट्नेछन् । मंसिर ७ गते साँझ ४ बजे बडीकेदार धाम पार्किङ स्थल र अतरकाँडा बजारबाट भक्तजनलाई धनगढी फर्काउने व्यवस्था पनि मिलाइएको छ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बडीकेदार धाममा हरेक वर्ष बैकुण्ठ चतुर्दशी र महाशिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्छ । विशेषगरी बैकुण्ठ चतुर्दशीमा डोटी, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतको उत्तर प्रदेशबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन् ।
बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार यस धामप्रति श्रद्धालुहरूको गहिरो धार्मिक विश्वास छ । यहाँ दर्शन गरेपछि मनोकामना पूरा भएको अनुभव सुनाउने भक्तजन धेरै रहेको उनी बताउँछन् । पुर्खौँदेखि रहँदै आएको धार्मिक मान्यता र श्रद्धालुहरूको विश्वासले बडीकेदारको महत्त्व बढाएको उनको भनाइ छ । उनका अनुसार यो वर्षको मेलामा २ लाख भन्दा बढी भक्तजन धाममा पुग्ने अनुमान गरिएको छ ।
.jpeg)
थारू समुदायको विशेष आस्था
बडीकेदार धामको विशेषता पश्चिम तराईका थारू समुदायसँग जोडिएको धार्मिक आस्था पनि हो । कैलाली र कञ्चनपुरका थारू समुदायका श्रद्धालुहरू बैकुण्ठ चतुर्दशीको अवसरमा विशेष श्रद्धाका साथ धाम पुग्ने गर्छन् । कतिपय श्रद्धालु दुईदेखि चार दिनसम्म खाली खुट्टा पैदल यात्रा गरेर बडीकेदार पुग्ने गरेको स्थानीय नवराज विनाडी बताउँछन् ।
मनोकामना पूरा हुने विश्वासमा उनीहरू कठिन यात्रा गर्नसमेत पछि पर्दैनन् । सन्तान प्राप्ति, पारिवारिक सुख र जीवनका विभिन्न आकांक्षा पूरा हुने विश्वास बोकेर श्रद्धालुहरू धाम पुग्ने गरेको कैलालीको बर्दगोरियाकी रेखा चौधरी बताउँछिन् । रेखाका अनुसार उनका बुबा र जेठाजु हरेक वर्ष बडीकेदार मेलामा पुग्छन् । पहिले उनीहरू घरबाटै खाली खुट्टा हिँडेर धाम पुग्ने उनिहरु पछिल्लो समय भने मोटरसाइकलमा जाने गरेको छन् । थारू समुदायका धेरै मानिस बडीकेदारप्रति गहिरो धार्मिक आस्था राख्ने रेखाले बताइन् ।
उनले भनिन्, ‘मेरो बुबा र जेठाजु हरेक वर्ष बडीकेदार जानुहुन्छ । त्यहाँ गएर पूजा गर्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ । त्यसैले थारू समुदायका धेरै मानिस बडीकेदार पुग्ने गरेका छन्।’ त्रयोदशीको राति र चतुर्दशीको दिन भारत तथा तराईबाट विशेषगरी थारू समुदायका श्रद्धालुको उल्लेख्य उपस्थिति रहने गरेको स्थानिय बिनाडीले जानकारी दिए । उनका अनुसार तराईबाट कतिपय तीर्थालु हप्ता दिनसम्म पैदल यात्रा गरेरसमेत दर्शनका लागि आउने गरेका छन् ।

धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरता
समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको बडीकेदार धाम डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सीमाक्षेत्रमा अवस्थित छ । लेकाली जंगलको बीचमा रहेको शिलालाई भगवान् शिवका रूपमा पूजा गरिन्छ । यहाँबाट तराईको समथर भूभाग, भारतको उत्तर प्रदेश तथा डोटी, अछाम र सुर्खेतका अग्ला पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।
स्थानीय किंवदन्तीअनुसार परापूर्वकालमा एउटा गाईले जंगलको बीचमा रहेको शिलामा दूध चढाउने गरेको थियो । गोठालाले त्यसको रहस्य पत्ता लगाएपछि स्थानीय ब्राह्मणहरूले उक्त शिलामा पूजाआजा सुरु गरेको र त्यही समयदेखि कार्तिक चतुर्दशीमा विशेष पूजा हुँदै आएको स्थानीय बताउँछन् ।
बडीकेदारलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणका काम भएका छन् । बडीकेदार गाउँपालीकाकी पुर्व उपाध्यक्ष बोहराका अनुसार तिनै तहका सरकारको लगानीमा सडक, सिँढी, मूर्ति र अन्य भौतिक संरचना निर्माण भएका छन् ।
डोटीबाट तीन पटक निर्वाचित सांसद तथा पूर्ववनमन्त्रीसमेत रहेका प्रेम आलेले बडीकेदार क्षेत्रमा विभिन्न विकास निर्माणका काममा योगदान गरेको स्थानीय बताउँछन् । तिर्थालुहरुको सहजताका लागि आलेकै पहलमा २ अर्ब २२ करोड बजेट बिनियोजन भएपछि सहजपुर अत्तरकाडा सडक कालोपत्रे भएको थियो । दुर्गम लेकाली क्षेत्रमा निर्माण सामग्री पु¥याउन कठिन हुने अवस्थामा पनि पूर्वाधार विकासका काम अघि बढाइएको उनीहरूको भनाइ छ ।
प्रदेश सरकारले बडीकेदार क्षेत्र पर्यटन विकास समिति गठन गरेर क्षेत्रको विकासलाई संस्थागत रूपमा अघि बढाएको छ ।
बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाले पनि टहरा तथा अन्य संरचना निर्माणमा सहयोग गर्दै आएका छन् । सडक पहुँच, पदमार्ग र सिँढी निर्माणमा भएको सुधारले विगतको तुलनामा धाम पुग्न सहज भएको स्थानीयको अनुभव छ । मेला व्यवस्थापनका लागि पनि विभिन्न निकायले समन्वय गर्दै आएका छन् ।





2026-11-20-12-50-16.jpeg)
तपाईको प्रतिक्रिया