Close This

स्थानीय तहको निर्वाचनमा वाम शक्तिबिच तालमेल हुनसक्छ : एमाले महासचिव पोखरेल

मंगलबार मङ्सिर ९, २०८३/ Tuesday 11-24-26
Paschim Today

काठ्माडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल सिर्जना गरेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्थानीय तह र प्रदेश सभाको निर्वाचन एक पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने अन्यौलतामा सरकार रुमलिएको बताए।

स्थानीय तहलाई कमजोर बनाउने दिशामा सरकार अघि बढेको भन्दै उनले एमाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे।

स्थानीय तहको म्याद वैशाखमा सकिने र प्रदेश सभाको समय मङ्सिरसम्म रहेकोले दुवै निर्वाचन एकै साथ हुन नसक्ने उनको धारणा छ।

‘स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा मान्य हुँदैन। स्थानीय तह र प्रदेशको निर्वाचन लोकतन्त्रको सुदृढीकरणमा अति महत्त्वपूर्ण छ,’उनले भने।

स्थानीय तह र प्रदेश सभाको निर्वाचनले राष्ट्रिय सभाको गठन तथा राष्ट्रपतिको निर्वाचन प्रक्रियासँग समेत सम्बन्ध राख्ने भएकाले निर्वाचन समयमा हुन नसके लोकतान्त्रिक प्रक्रियामै असर पर्न सक्ने उाको भनाइ छ।

यस्तै, पोखरेलले स्थानीय तहमा वाम शक्तिबिच तालमेल हुन सक्ने बताएका छन्। वामपन्थीबिच तालमेल गर्दा मत ट्रान्सफर गर्न सकिन्छ भन्ने चेत नेकपाका नेताहरूलाई फिरेको उनले बताए।

विगतमा माओवादीले एमाले र कांग्रेससँग चुनावी तालमेल गर्दाको अनुभवबाट यो पाठ सिकेको उनको भनाइ छ।

तालमेलको विषममा अनौपचारिक कुराहरू भएका भए पनि कुनै ‌औपचारिक छलफल भने नभएको उनले प्रष्ट पारे। ‘तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेका छन्, त्यति हो’, उनले भने।