स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
काठमाडौं। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा मन्त्री गौतमले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन्। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठकको आयोजना गरिएको थियो।
'घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने ? भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ,'बैठकमा मन्त्री गौतमले भनिन्।
बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मा राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो। उनले भनिन्,'नागरिकका गुनासा सुनेर हामीले खोज्नुपर्ने सुधार त्यही हो,नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्छ ।'
बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए। छलफलमा मन्त्री गौतमले बीमामार्फत उपचार सेवा दिन सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ कि निजी अस्पताललाई पनि कार्यक्रममा जोड्नुपर्छ भन्ने प्रश्न उठाइन्।
बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष,सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन र भुक्तानी एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि छलफल भएको थियो। ती सबै निकायको एकीकरणका लागि विद्यमान ऐनहरू संशोधन गरेर तीनै निकायलाई जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइ राख्ने दुई कानुनी विकल्पबारे बैठकमा छलफल भएको थियो।






तपाईको प्रतिक्रिया