Close This

पर्यटन विकासका लागि २५ करोड बजेट

आइतबार असार ३, २०७५/ Sunday 06-17-18
Paschim Today

धनगढी, ३ असार । प्रदेश नम्बर ७, प्रदेश सरकारले पर्यटन विकासको लागि २५ करोड १७ लाख रुपैया बजेट विनियोजन गरेको छ । 
    प्रदेश संसदमा आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले यो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रबद्र्धनका लागि बजेट विनियोजन गरेको बताए । 
    प्रदेशमा पर्यटकीय स्थलको प्रबद्र्धन र विकासका लागि प्रदेश पर्यटन बोर्ड गठन कार्य अगाडि बढाउने बजेटमा उल्लेख गरिएको छ । नौ वटै जिल्लामा रहेको पर्यटन पूर्वाधार पहिचान तथा निर्माणका लागि १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । 
    यसैगरी, प्रदेशभित्रका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक पर्यटनको प्रबद्र्धन, पूर्वाधार विकास गर्ने नीति अनुरुप सम्भाव्यता अध्ययन भइ पहिचान भएका धार्मिक पर्यापर्यटन कोरीडोरहरुको पूर्वाधार विकास गरिने उल्लेख छ । यसका लागि मन्त्री बोहराले चार करोड बजेट विनियोजन गरेका छन् । 
    यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेती लगायतका नदीहरुमा ¥याफ्टिङको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जनाइएको छ । यस्तै, पहाडी क्षेत्रमा प्याराग्लाइडिङ्ग जस्ता क्रियाकलाप सञ्चालनका लागि पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेटमा व्यवस्था गरिएको छ । 
    पर्यटकीय गन्तव्यहरुको पहिचान तथा सूचना प्रसार गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्न प्रादेशिक निकायहरुमा कार्यरत राष्ट्रसेवक निजामति कर्मचारीहरुलाई प्रोत्साहन गर्ने जनाइएको छ । यसका लागि वर्षमा एक पटक सात दिनको आन्तरिक पर्यटन भ्रमण कार्यक्रमलाई निरन्तरता दिइएको छ । 
    ‘हाम्रो प्रदेश, राम्रो प्रदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिने मन्त्री बोहराले बताए । 
यो प्रदेशमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल सहित कर्णाली पुल, कोइलहुवा ताल, टीकापुर पार्क, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधरा–चाँदनी झोलुङ्गे पुल, खप्तड राष्ट्रिय निकुञ्ज, बडिमालिका, रामारोशन, अपीनाम्पा संरक्षण क्षेत्र लगायत मुख्य पर्यटकीय स्थलको रुपमा रहेका छन् ।