Close This

मुहार फेर्दै ग्रामीण क्षेत्र

विकासको कार्यमा स्वयम् जनताको सहभागिता बढेको छ

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

धनगढी, असोज २ गते । विकासको दृष्टिकोणले निकै पछाडि परेको कैलारी गाउँपालिकाको ग्रामीण क्षेत्रले मुहार फेर्न थालेको छ । 
    विकास निर्माणको कार्यमा स्थानीय सरकारले तुलनात्मक रुपमा राम्रो काम गरेपछि ग्रामीण क्षेत्रमा विकास देखिन थालेको हो । जनप्रतिनिधिले प्रतिबद्धता अनुसार कामको सुरुवात गरेकाले दूरदराजमा रहेका गाउँमा विकासको अनुभूति हुन थालेको स्थानीयले बताएका छन् । गाँवै गाउँ रहेको कैलारी गाउँपालिका कैलालीको समस्याग्रस्त स्थानीय तहको रुपमा चिनिन्छ ।  
    तर, स्थानीय सरकार आएको एक वर्षमा विकासको सवालमा केहि परिवर्तन महसुस भएको वडा नम्बर ३ भडरीका रवि चौधरीले बताए । ‘गाउँमा कालोपत्रे सडकमा हिड्न पाएका छौं’, उनले भने–‘अवश्य पनि केहि परिवर्तन भएको छ ।’
    स्थानीय निकायको बेला जिल्लाबाट थोरै बजेट ग्रामिण क्षेत्रमा गएको स्थानीयवासी अनुभव सुनाउँछन् । त्यो बजेट पनि लुछाचुँडी हुँदा विकासबाट जहिल्यै बञ्चित भएको वडा नम्बर ३ कै छेदुराम चौधरीको भनाइ छ । ‘अघिल्लो व्यवस्थाभन्दा अहिले विकास भएको आँखै अगाडि देख्न पाएका छौं’, उनले भने–‘विकासको कार्यमा स्वयम् जनताको सहभागिता बढेको छ ।’
    कैलारी गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा वडा नम्बर १, ३, ५ र ९ मा गरी तीन किलोमिटर ग्रामीण सडक कालोपत्रे गरेको छ । यसैगरी, बर्खाभरी हिलाम्य र सुख्खा याममा धुलाम्य रहने ३९ किलोमिटर कच्ची सडकमा ग्राभेल गरिएको छ । स–साना पुल पुलेसा र कल्भर्ट बनाइएको छ । फलस्वरुप, मनसुनको सिजनमा पनि सो गाउँपालिकाको प्रायः गाउँमा यातायातको साधन सजिलै पुगेको छ । 
    स्थानीय सरकार चलाएका जनप्रतिनिधिले स्वभाविक रुपमै अघिल्लो व्यवस्थाभन्दा राम्रो काम गरेर देखाएको भडरी गाउँका अर्का स्थानीय कमल चौधरीको बुझाइ छ । उनले भने–‘विकासको सुरुवात देखा परेको छ । तर, ग्रामीण क्षेत्रको एउटा डरलाग्दो समस्या बेरोजगारी हो । स्थानीयस्तरमै रोजगार हुन सक्ने व्यवस्था स्थानीय सरकारले गरेपछि सुनमा सुगन्ध महसुस गर्नेछौं ।’
    चौधरीका अनुसार ग्रामीण क्षेत्रका धेरैभन्दा धेरै युवा बेराजगार छन् । खेतीपातीको काम सकेपछि उनीहरु उत्तिकै बरालिने वा दुई महिना मजदुरी गर्नका लागि भारत जाने गरेका छन् । त्यसो त, चुनावको बेला स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने सबै नेताहरुले जनतालाई आश्वसन दिनु भएको थियो । 
    गाउँपालिकालाई अगाडि बढाउनका लागि विकाससंगै रोजगारीको वातावरण पनि सृजना गर्न आवश्यक रहेको रविको भनाइ छ । उनले अगाडि थपे–‘भौतिक विकासले मात्रै पुग्दैन । वास्तविक विकासका लागि आयआर्जनको पाटो पनि बलियो हुन जरुरी छ ।’
    कैलारी गाउँपालिकामा तीन वटा गाउँ मोहना नदीपारि रहेको छ । तीनवटै गाउँको कथाव्यथा अरु गाउँकोभन्दा फरक र उदेक लाग्दो छ । यद्यपि, विकासको सुरुवात सबै गाउँतिर भएको वडा नम्बर ५ छोटी पलियाका रञ्जु बखरियाले बताइन् । 
    ‘यातायात नपुग्ने गाउँसम्म सहज रुपमा यातायात जाने गरी बाटोमा सुधार हुनुका साथै, विद्युत नपुगेको गाउँमा विद्युत पुगेको छ’, उनले भनिन्–‘जनप्रतिनिधिले काम गरेर देखाएका छन् ।’ 
    तर, सोही गाउँकै छवि दहितले भने स्थानीय सरकारको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले जनताको चाहना अनुरुप अहिलेसम्म काम गर्न नसकेको दावी गरे । ‘सुरुवात त गरेका छन् तर, जुन अनुरुप एक वर्षमा काम हुनु पर्दथ्यौं, त्यो देखिएन’, उनले भने ।     आर्थिक रुपले विपन्न परिवारको बसोबास रहेको उक्त गाउँपालिकालाई नमूना बनाउने लक्ष्य राखिएको छ । सोही लक्ष्य प्राप्तीका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढेको जनप्रतिनिधिले बताएका छन् । गाउँपालिकामा रहेको सबै कच्ची सडकमा चालू आर्थिक वर्षभित्रै ग्राभेल गरेर सडक सुधार गर्नुका साथै रिङ्ग रोडको अवधारणा अनुसार कालोपत्रे गर्दै जाने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । 
    ‘हामीले यो गाउँपालिकालाई ग्रीन स्मार्ट र नमूना बनाउने भनेका छौं’, उनले अगाडि थपे–‘सोही अनुसार दीर्घकालिन योजना बनाएर विकासको कामलाई अगाडि बढाएका छौं ।’
    आर्थिक, सामाजिक विकासमार्फत आर्थिक समृद्धि र आर्थिक समृद्धिमार्फत समतामूलक समाज निर्माणको लक्ष्य रहेको अध्यक्ष चौधरीको भनाइ थियो । ‘यी लक्ष्य प्राप्तीका लागि चालू आर्थिक वर्षमा कैलारी सर्वाङ्गिन विकास, ग्रीन इ स्मार्ट भिलेज, नमूना विद्यालय, क्षमता विकास र रोजगार, आपन डगरा अप्नेही बनाइ (आफ्नो बाटो आफै बनाऔं) जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने । 
    गाउँपालिकाको कार्यालयले किसानले गर्दै आएको कामलाई व्यवसायीकरण गर्नका लागि नौ वटै वडामा विभिन्न पकेट क्षेत्र समेत बनाएको छ । वडा नम्बर १ र ७ लाई पशुपालन पकेट क्षेत्र, वडा नम्बर ३ र ५ केरा खेती, २, ४ र ६ वडालाई बेमौसमी तरकारी खेती, वडा नम्बर ८ लाई च्याउ खेती र ९ लाई आलु खेती पकेट क्षेत्र घोषणा गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।