Close This

शिक्षाको सवालमा छलफल

बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today

हसुलिया, २६ मंसिर । कैलालीको कैलारी गाउँपालिकामा शिक्षाको समसमायिक सवालमा बुधबार प्रधानाध्यापकहरुबीच छलफल भएको छ । 
    हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा गाउँपालिकास्तरीय छलफल भएको हो । उक्त अवसरमा चालु आर्थिक वर्षमा स्थानीय तहबाट स्वीकृत शिक्षाको कार्यक्रम, शिक्षकको समस्या लगायतको विषयमा छलफल भएको कैलारी गाउँपालिकाका शिक्षा शाखाका विद्यालय निरीक्षक गणेश मिश्रले जानकारी दिए । 
    यसअघिसम्म, कैलारी गाउँपालिकाको शिक्षा शाखा कर्मचारीबिहीन रहेको थियो । आफू गत बुधबार कार्यालयमा हाजिर भएकाले अब नियमित कार्यक्रमहरुलाई सहज रुपमा अगाडि बढाउने विद्यालय निरीक्षक मिश्रले बताए । ‘वार्षिक कार्यक्रमहरु गाउँपालिकाको कार्यालयबाट स्वीकृत भइसकेका छन्’, उनले भने–‘अब त्यसलाई कार्यान्वयनमा ल्याउँछौं ।’ 
    शिक्षा शाखामा धेरै समयसम्म कर्मचारी नआउँदा यसअघि, विभिन्न कार्यक्रमहरु अगाडि बढाउन समस्या भएको थियो । नौ वटा वडा रहेको कैलारी गाउँपालिकाको प्रत्येक वडामा एक वडा एक नमूना विद्यालय अभियान अगाडि बढाइएको छ ।