Close This

सुख खोज्न विदेश पुग्ने महिलालाई दुःखै दुःख

बिहीबार पौष ५, २०७५/ Thursday 12-20-18
Paschim Today

धनगढी, ५ पुष ।
दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्किइन् । 
    सानैमा बिहे गरेकी उनी श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत गएकी थिइन् । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उनलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुगेकी उनले घरेलु श्रमिकका रुपमा दैनिक १९÷२० घण्टा काम गरिन् । खटाइ धेरै भए पनि त्यसैका आधारमा उनको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उनी खुशी नै थिइन् । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लागिन् । काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उनी गर्भवती भइन् । उनले भनिन्, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”
गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उनले बताइन् । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उनलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उनले साढे तीन महीना काटिन् । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उनी त्यहाँबाट छुटिन् । विमानस्थलमा आइपुगे पनि उनीसंग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उहाँ घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उनी भन्छिन्, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”
मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरूमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् । 
    मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुगेकी थिइन । उनको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उनी एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उनी सानिमा भन्थिन) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उनी राहदानी बनाउनेलगायतका तयारीमा जुटिन् । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुगिन् । उनले भनिन्, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”
    मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेटिन् । तीमध्ये एकजना गर्भवती महिलाले उहाँलाई आफूहरू सबै बेचिएर यहाँ आइपुगेको भनिन् । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्किन र भारत पुगिन । उनको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आइन् । अहिले उनी दलाललाई पक्राउ गराउन सफल भएकी छिन्, । “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।” उनले भनिन् । 
    दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छ । कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाडौँमा छिन् । उनले भनिन्, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।”
घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुई–तीन घण्टा आराम गरेर २०÷२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरूले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्काे देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरू पीडित बनेका हुन् । रासस