Close This

सेती अञ्चल अस्पतालको प्रयोगशालामा चरम लापरवाही

शनिबार माघ २६, २०७५/ Saturday 02-09-19
Paschim Today

धनगढी, २६ माघ ।
रुघा ज्वरोले च्यापेपछि दुई वर्षिय छोरा संस्कार सेठीलाई उपचारका लागि सेती अञ्चल अस्पताल लिएर गएका शिवराज सेठी त्यतिबेला छांगाबाट खसे झै भए, जतिबेला सेती अञ्चल अस्पतालको प्रयोगशालाका कर्मचारीले उनको दुई वर्षिय छोराको रगतमा एचआईभी पोजिटिभ भएको रिपोर्ट दिए ।


धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका शिवराज दुई वर्षिय छोरालाई रुघाखोकीले च्यापेपछि उपचारका लागि बुधवार साँझ ५ ः३० बजे अस्पताल पुगे । ईमर्जेन्सी कक्षमा छोरालाई देखाए । डाक्टरले उनलाई छोराको सीवीसी र सीआरसी जाँच गर्न प्रयोगशालामा पठाए । उनी रिपोर्ट नआउञ्जेल अस्पतालकै प्रयोगशाला बाहिर कुरिरहे । ६ः३० बजे उनलाई भित्र बोलाईयो । 
तपाई कहाँ काम गर्नुहुन्छ ? भारतमा काम गर्नुहुन्छ कि ? के तपाईले कसैसंग असुरक्षित यौन सम्पर्क गर्नु भाछ ? भित्र बोलाएर उनको हातमा रिपोर्ट नदिदै एक जना ल्याव टेक्निसियनले यसरी प्रश्नमाथि प्रश्न गरिरहदा उनी अवाक भए । र प्रयोगशालामा भएका अन्य कर्मचारीहरु रमिते बने ।
उनी केही बोल्न सकिरहेका थिएनन । उनको दिमाग शुन्य भईसकेको थियो । उनी ल्याव टेक्निसियनको कुरा सुनेर रिंगटा लागेर त्यही थचक्क बसे ।
ल्याव टेक्निसियनले भने बोल्न छोडेका थिएनन । भोलि तपाई र तपाईको श्रीमतीको पनि रगत जाँच गर्नुपर्छ । तपाई दुबै जना भोली आउनुहोस । ल्याव टेक्निसियन बोलिरहदा उनी चुपचाप सुनिरहे ।
एकछिन पछि उनले आफूलाई हल्का सम्हाले । उनी त्यहाँबाट निस्किए । अस्पतालको इमर्जेन्सी कक्षमा रहेका श्रीमती र दुई वर्षियलाई हेर्ने गए । त्यहाँ पनि केही बोल्न सकेनन । डाक्टरले औषधी लेखिरहेका थिए । उनी डाक्टरले किन औषधी लेखिरहेका छन्, भन्ने मनमनै सोचिरहेका थिए ।


राति घर फर्के । रिपोर्टले उनलाई भित्रभित्र गलाईरहेको थियो । उनी अत्यन्त नर्भस थिए । तर उनले श्रीमतीलाई बताउन सकिरहेका थिएनन । उनले गर्भावस्थामा रगत जाँच गरेको थिएनौ र ? आफ्नी श्रीमतीलाई प्रश्न गरे ।
किन सोध्नुभएको ? श्रीमतीले उल्टै प्रश्न गरिन । 
होईन त्यत्तिकै सोधेको ? उनी पञ्छिन खोजे ।
सोध्नुको कारण श्रीमतीसंग लुकाए । मनले मानेन । ईलाममा कार्यरत हेल्थ एसिसटेण्ट जेठानलाई रिपोर्ट पठाए । उनका जेठान पनि रिपोर्ट देखेर चिन्तित भए । यद्दपि उनले ढाडस दिए । उज्यालो भएपछि भोलिपल्ट अर्को कुनै राम्रो प्रयोगशालामा रगत  जाँच गर्न सल्लाह दिए ।
रातभरी छटपटिए । निदाउन खोजे । निदाउन सकेन । कतिखेर उज्यालो होला, र अर्को ल्यावमा गएर रगत जचाउला भन्ने भईरह्यो ।

 

दिउसो एक बजे धनगढीको एउटा निजी प्रयोगशालामा छोरालाई लिएर रगत जाँच्न दिए । उनलाई दुई घण्टापछि रिपोर्ट लिन आउन भनियो । उनी कही गएन । प्रयोगशाला नजिकै बसे । दुई घण्टा काट्न साह्रै गाह्रो भयो । मानौ, दुई घण्टा नभएर उनी दुई युग पर्खिरहेका थिए । उनका लागि एक एक सेकेण्ड भारी भईरहेको थियो । धैर्यर्ता गर्नु बाहेक अरु बिकल्प थिएन । दुई घण्टा नबत्दिै उनी प्रयोगशाला पुगे । हातमा रिपोर्ट नआउदासम्म उनले भगवानलाई पुकारे । कामना गरे, हिजोको रिपोर्ट गलत होस । उनका हातमा रिपोर्ट आयो । रिपोर्टमा एचआईभी पोजिटिभ देखिएन ।

उनी त्यो रिपोर्ट प्रति पनि विश्वस्त हुन सकेनन । मनलाई केही बलियो बनाएर ल्याव टेक्निसियनलाई आग्रह गरे, एचआईभी पोजिटिभ छ भने त्यही भनी दिनुहोस । 
एचआईभी पोजिटिभ छैन, ल्यावटेक्निसियनले उनलाई विश्वस्त पार्दै जवाफ फर्काए । 
हातमा त्यो रिपोर्ट आएपछि पनि उनी ढुक्क हुन सकिरहेका थिएनन । उनले एक रात र आधा दिन झेलेका तनावबाट उनी बाहिर निस्कन सकिरहेका थिएन । उनी त्यो रिपोर्ट लिएर सोझै सेती अञ्चल अस्पतालको प्रयोगशाला पुगे ।
तिनै ल्याव टेक्निसियनलाई भेटे । जसले उनको छोरामा एचआईभी पोजिटिभ भएको बताएका थिए ।
यस्तो गलत रिपोर्ट दिने भनेर उनले भन्न नपाउदै ल्याव टेक्निसियनले उल्टै भने, तपाईको छोराको रगत निकाल्न प्रयोग गरिएको सिरिञ्जले मलाई घोचेकोले कति तनाव भयो ।
र ती ल्याव टेक्निसियनले राति आफ्नै रगत पनि जाँच गरेछन् । तर उनको रिपोर्टमा पनि पोजिटिभ देखिएनछ ।
गलत रिपोर्ट दिएर अरुलाई तनाव दिने ल्याव टेक्निसियनले चरम लापरवाहीका आफै पनि तनाव झेले । तर गल्ती भनेर स्वीकार गरेनन । 

 

शिवराज सेठीले गलत रिपोर्ट दिने ल्याव टेक्निसियनमाथि कारबाहीको माग गर्दै सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयलाई घट्नाका बारेमा जानकारी गराएका छन् ।
यो लापरबाहीको पराकाष्ठा हो, सेती अञ्चल अस्पतालको ल्याव टेक्निसियनको लापरबाहीका कारण डेढ दिन मैले तनाव झेल्नु प¥यो, उनी भन्छन्,अरुले यस्तो पीडा र तनाव भोग्नु नपरोस । त्यस्ता ल्याव टेक्निसियनलाई कारबाही गर्नुपर्छ ।
उनले सेती अञ्चल अस्पताल गलत रिपोर्टको पनि शुल्क लिएको गुनासो गरे । र त्यही गलत रिपोर्टका कारण अनावश्यक तनाव झेल्नुका साथै खर्च समेत भएको शिवराजले बताए ।
सेती अस्पतालमा रिपोर्टका लागि चार सय रुपैया खर्चेका उनले निजी प्रयोगशालमा एक हजार दुई सय रुपैया खर्च भएको बताए ।  
ल्याव टेक्निसियनको काम आतंकित पार्ने हो वा ढाडस दिने हो ? एकातिर गलत रिपोर्ट दिईयो, अर्कोतिर मानसिक रुपमा आतंकित गरियो,सेठी भन्छन्, सबैभन्दा जिम्मेवार र गम्भीर हुनुपर्ने ल्याव टेक्निसियनहरु नै यतिधेरै गैरजिम्मेवार भएपछि बिरामी र आफन्तले निकै पीडा खेप्नु परिरहेको छ ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयले गलत रिपोर्ट दिने ल्याव टेक्निसियनलाई कारबाही गरिएको बताए ।

 

केही महिनाअघि एक निजी अस्पतालमा एपेण्डिक्सको अप्रेशन गर्ने क्रममा त्यहाँको ल्यावले हेपाटाईटिस बी देखाएपछि प्रेसरको समस्या भएको बताउने एक जना पिडित व्यक्तिले गुनासो गरे, एपेडिक्स त अप्रेशन गरी निको भयो । तर हेपाटाईटिसको रिपोर्टले सधैभरी प्रेसरको औषधी खानु पर्ने बनायो ।
 

उनी त्यो निजी अस्पतालको रिपोर्टमा भर नपरेर दिल्लीको एम्स अपस्ताल पुगे । त्यहाँ जाँच गर्दा हेपाटाईटिस बी देखिएन । 
जुन रोग छदै थिएन, त्यही रोगको चिन्ताले प्रेसरको औषधी खानु पर्ने भयो, उनले गुनासो गरे, आम जनताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने निजी तथा सरकारी अस्पताल र तिनका प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियनहरु गल्ती स्वीकार गरेर सच्याउने भन्दा पनि उल्टै ढाकछोप गर्न लाग्छन । त्यही कारण सर्वसाधारणहरुले दिनहु यस्ता समस्या भोग्नु परिरहेको छ ।