इटालीको दुखःबाट केही सिकौं 

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20
Paschim Today


गोविन्दराज जोशी ।
आजज सारा संसार महामारीका रुपमा फैलिएको कोरोना भाईरसकाको सन्त्रासमा छटपटाई रहेको छ। पौराणिक युगको कुनै दन्त्यकथाको राक्षसले सबै गाउँ नगरमा त्राहिमाम मच्चाए जस्तै कोरोनाको राक्षसले एक्काईसौं शताब्दिको पुरै मानव जातिलाई हल्लाएर राखिदिएको छ ।

सम्पूर्ण मानवता आज हतास,निराश र असहाय अवस्थामा छटपटिरहेको छ । दन्त्य कथाहरुमा  जस्तै कुनै अलौकिक शक्ति भएको महानायक आएर आफ्नो तागतले सबै समस्याहरु छु मन्तर गरेर समाधान गरे झै, मानौं त्यस्तै कुनै अलौकिक शक्ति भएको राजकुमारले हामीलाई यो अवस्थाबाट मुक्ति दिलाउने छ। हामीहरु अहिले यस्तै बाल कल्पना गर्न बाध्य भएका छौं।

हामी मानव जाति आफूलाई ब्रम्हाण्ड कै सर्ब शक्तिमान, उत्कृष्ट र सर्बगुण सम्पन्न प्रजाति सम्झिन्थ्यौं। हामी मान्छे जुनी मात्रै यस पृथ्वीलोकका हर्ताकर्ता हौं,अन्य प्राणी ,बनस्पति र सबै जलथल चराचर जगत हाम्रो जथाभावी उपभोगका लागि मात्रै श्रृष्ठि गरिएको हो । यो आजको चरम भौतिकबादी अथवा बैज्ञानिक युगको मान्यता हो। हाम्रो यो गर्व, यो घमण्ड रावणको झैं चकनाचुर हुने स्थिति भएको छ। मौकमामा किराले हिरा फोर्छ रे ? यो अवस्थाको सृजना अरु कसैले गरेको हैन,केवल मान्छे आफै जिम्मेवार छ, यसका लागि। र कोविड-१९ कोरोना महामारी पनि यिनै सर्बशक्तिमान अति बिकसित मुलुकहरुले सिर्जना गरेका छन । यसको प्रत्यक्ष प्रमाण हो, संयुक्त राज्य अमेरिका र चिनियाँ प्रतिनिधिहरुले संयुक्त राष्ट्र संघमा गरेको एक अर्का बिरुद्धको आरोप प्रत्यारोप।

यतिले नै धेरै कुराको भयानक छनक मिल्छ। र यस महामारीको पहिलो प्रहार पनि उनीहरुले नै झेलेका छन। अब आएर यसको दुष्परिणाम पुरै मानव जाति ले झेल्नुपर्ने त छ नै। भविष्यले नै यथार्थ कुराको जानकारी दिने छ कि, यो कोराना बिषाणु प्राकृतिक रुपमा आफै उब्जिएको हो वा कुनै तथाकथित बैज्ञानिक प्रयोगशालामा रासायनिक युद्धका लागि मनाव श्रृजित भाईरस हो ,यस बारे अहिल्यै केही निष्कर्ष निकाल्नु हतारको कुरा मानिने छ।साथै यथार्थमा यसमा दोषी को हो ? यो अहिल्यै किट्याउन सकिदैन पनि। विश्वब्यापी रुपमा बैसाखको डढेंलो झैं फैलिरहेको यो महामारी संगको लडाईमा अमेरिका,इटली, स्पेन,ब्रिटेन फ्रान्स जस्ता अति बिकसित शक्तिशाली राष्ट्रहरु समेत असहाय र अलमलमा छन।

इटलीका राष्ट्रपति रोएको भिडियो सार्बजनिक भएको छ ।त्यहाँका प्रधानमंत्रीले कोराना भाइरस अगाडि आफ्नो मुलुकले आत्मसमर्पण गरेको खबर प्राप्त भएको छ। यति तिब्र गतिमा फैलिरहेको एस्तो दुर्दमनीय महामारीमा हाम्रो जस्तो साधन बिनाका अति बिपन्न मुलुकका जनताहरुको एकमात्र सहारा के भगवान पशुपतिनाथ र बाबा गोरखनाथ मात्र हुन ? या हाम्रो गौरवशाली ,अतिशक्तिशाली प्रचण्ड,प्रतापी दुईतिहाई हैसियत बोकेको सरकार,महान ऐतिहासिक राजनीतिक हैसियतको प्रतिपक्ष पार्टी, र अन्य महारथी राजनीतिक दलहरु र प्रकाण्ड विद्धानहरुले नेतृत्व गरेका महान नागरिक समाजको कुनै उत्तरदायित्व हुन सक्छ कि सक्दैन ? जे भूमिका हुन सक्छ,त्यो कुरामा हामी चुक्योैं भने हाम्रो बिनासका लागि हामी नै सहयोगी हुने छौं।

सरकारले स्वास्थ्यकर्मीहरुलाईआबश्यक साधन दिन त ढीलो गरि सकेको छ,आववागमन निषेधित वा ब्यवस्थित गर्न धेरै बिलम्ब गरेको छ,छिमेकी देशले दिने भनेको औषधी र उपचारका अन्य सबै साधनहरुको सहयोग जुटाउन सकिरहेको छैन,बिदेशबाट फर्केकाहरुलाई समेत उचित चेक जाँचको ब्यवस्था गर्न सकेन,उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध नै मिलाउन सकेन।समान्य ब्यवस्थापनबाट हुन सक्ने कुरा पनि सरकारले गर्न नसकिरहेको अवस्था छ।

तत्कालमा नागरिकले सामाजिक दुरी बनाइ राख्ने राज्यको अभियानमा दिलोज्यानले सहयोग गरौं। यो भाईरस मान्छेबाट मान्छेलाई सर्ने भएकोले यो रोग फैलिने कारणमा प्रहार गरौं। यो कुरामा हामीले अलिकति पनि हेलचेक्र्याई गर्यौं भने हामी नेपालीले यसको उपचार गर्नसक्ने त स्थिति नै छैन।

इटली र अमेरिकाले गरेको लापरवाहीका परिणाम आज झेल्दै छन भने हामीले पनि यो बेवास्ता गरेमा त्यो दुखदायी परिणाम ब्यहोर्नु पर्ने छ। चीन पछि इटली,अमेरिका स्पेन बेलायत समेतको परिणामबाट हामी सिकौं अन्यथा यो महामारीले हामी माथि कुनै दया माया गर्ने वाला छैन। 
(लेखक नेपाली काँग्रेस कैलालीका पूर्व सभापति हुन् ।)