Close This

लकडाउनमा कडाई, प्रजिअ बोहरा निस्किए सडकमा

गाडीका सबै पास खारेज लक डाउन र निषेधाज्ञा उल्लंघन गर्नेलाई ६ महिना जेल सजाय हुनसक्ने

मंगलबार चैत १८, २०७६/ Tuesday 03-31-20
Paschim Today

धनगढी : लक डाउनलाई वेवास्ता गर्दै साँझको समय सर्वसाधारणहरु सडकमा पैदल तथा सवारी साधन सहित निस्किन थालेपछि आजदेखि साँझदेखि व्यापक रुपमा कडाई गरिएको छ ।

लकडाउन उल्लंघन क्रम अचाक्ली बढेपछि उल्लंघनकर्तालाई रोक्न आज साँझ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा आफै सडकमा निस्किए ।

प्रजिअ बोहरासंगै निस्किएका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले धनगढीको चौलानी सडक अगाडि थुप्रै सवारी साधन रोके ।

त्यसक्रममा थुप्रै सवारी चालकहरुलाई रोकेर प्रजिअ बोहराले सवारी साधन नचलाउन र लकडाउनको पालना गरेर घरभित्रै बस्न सुझाव दिए । उनले कोरोना रोकथामका लागि सम्पूर्ण कैलालीवासीलाई घरभित्रै बस्न र साँझपख पनि घर बाहिर ननिस्किन आग्रह गरे ।

यसैक्रममा साँझ सशस्त्र प्रहरी र प्रहरीले ६४ वटा मोटरसाईकलमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । भोलि देखि लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने प्रजिअ बोहराले बताए ।

प्रजिअ बोहराले सरकारले घोषणा गरेको लक डाउनसंगै प्रशासनले निषेधाज्ञा जारी गरेकोले निषेधाज्ञा उल्लंघन गरेर आवातजावत गरेको पाईएमा ६ महिना जेल सजायसम्म गर्न सकिने बताए । सरकारले जारी गरेको लकडाउन जनताको सुरक्षाको लागि हो, कोरोनाको संक्रमण नफैलियोस भनेर हो, प्रजिअ बोहराले भने, जनताले यो कुरा बुझ्दै बुझेनन ।

अव भोलिदेखि कसैले लक डाउन उल्लंघन गरेको पाईए सुरक्षाकर्मीले त्यस्ता व्यक्तिलाइ सवारी साधनसहित नियन्त्रणमा लिनेछ ।

प्रजिअ बोहराले दिनभरी कोठाभित्र बसेर साँझ सडकमा निस्किने हो भने लक डाउनको अर्थ नरहने बताए । जिल्ला प्रशासनले दिएका सम्पूर्ण पासहरु समेत आजदेखि खोसेको छ । बन्द रहेका अस्पताल र औषधी पसललाई समेत सवारी साधनमा रोक लगाएको छ ।

खाद्यान्न उद्योगलाई दिएको पास पनि दुरुपयोग भन्दै आज साँझ पासको भरमा सपरिवार गाडीमा घुमिरहेका एक खाद्यान्न उद्योगीको पास समेत प्रशासनले खारेज गरेको छ ।

अत्यावश्यकीयक काम बाहेक अन्य कुनै प्रयोजनमा बाहिर निस्किएको पाईए सर्वसाधारणलाई समेत प्रहरीले भोलिदेखि नियन्त्रणमा लिने जनाएको छ ।