एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन धनगढी आईपुग्यो
धनगढी, २६ चैत ।
एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन बोकेर काठमाण्डौबाट उडेको नेपाली सेनाको स्काई ट्रक धनगढी आईपुुगेको छ ।
आरटीपीसीआर मेसिन सहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण ल्याएर आएको नेपाली सेनाको स्काई ट्रक भर्खरै धनगढी बिमानस्थलमा अवतरण भएको छ ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरैजनाको एकै पटक कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाएको हो ।
यो मेसिन धनगढीमा जडान गरिने छ । उक्त मेसिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने बताईएको छ ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको पीसीआरबाट दैनिक ५ देखि ६ जनाको मात्र थ्रोट स्वावका नमूनाको परीक्षण हुने गरेको छ ।
देशभरीमा ८ जना संक्रमित भएकोमा धनगढीमा मात्र चार जना संक्रमित छन् ।
स्काई दुई ट्रक मार्फत सुदूरपश्चिमका लागि दुई वटा पीसीआर मेसिन र डोटीका लागि स्वास्थ्य उपकरण समेत आएको छ ।
स्काई ट्रक हिजो र आज कैलाली, कञ्चनपुर र अछाममा संकलित थ्रोट स्वावको नमूना लिएर काठमाण्डौं फर्किने छ ।
अछाममा बिहानै प्राबिधिक सहित पुगेको नेपाली सेनाको हेलिकोप्टरले त्यहाँ संकलित स्वावहरु धनगढी ल्याउने छ । साथै धनगढीमा संकलित १३० नमूना पनि स्काई ट्रक मार्फत काठमाण्डौं लगिनेछ ।
तपाईको प्रतिक्रिया