त्यो धनगढी र गुल्जार सुरेश चिया पसल
रञ्जना बिसी,
धनगढी, १७ माघ ।
धनगढीको एलएनचौकस्थित सुरेश चिया पसल कुनै समय राजनीतिको केन्द्र थियो । जहाँ राजाको चर्चा हुन्थ्यो । राजनीतिको चर्चा हुन्थ्यो । देशको चर्चा हुन्थ्यो। पार्टी जुन सुकै होस, चिया खानेहरुका लागि सुरेश चिया पसल साझा थलो थियो । शिक्षक हुन् वा व्यापारी । नेता हुन् वा सर्वसाधारण । कर्मचारीहरु पनि चिया पिउन यही पुग्थे । कतिपयलाई सुरेश चिया पसलमा दिनमा एक पटक नपुगी धीत मर्दैनथ्यो ।
‘यो रेडियो नेपाल हो’ बाट कतिपयको बिहानीको शुरुवात हुन्थ्यो, त्यही पसलबाट । पछि कायाकैरन त्यही बज्न थाल्यो । त्यही सुनिन्थे, देश विदेशका खवर । रेडियोका वरीपरी झुम्मिरहन्थे ग्राहकहरु । चिया त बहाना थियो ।
सुरेशलाई चिया बनाउन भ्याई नभ्याई हुन्थ्यो । कतिसम्म भन्ने चिया पिउनेका लागि बस्ने ठाउँसम्म हुदैनथ्यो ।
नेपाली काँग्रेसका नेताहरुको त त्यो अखाडा नै थियो । काँग्रेस नेता टेक बहादुर चोख्याल चिया खान त्यही पुग्थे ।
उनलाई लिएर थुप्रै किस्सा छन् । कुनै दिन एक जना ग्राहकले चिया पिउदा बस्ने ठाउ नभएर कुर्सीका लागि आग्रह गरे । उनले जवाफमा भनेछन्, तुम कौन होते हो कुर्सी मागने वाले, तुम्हारे नेता...तो खडे खडे चाय पिते है ।
फुर्सद भए च्याँ खाउ है । केही कुरा गर्नुछ, च्याँ खान आउनुस है । मर्निङ वाक सकेर च्याँ खाउ है । बहाना जे सुकै होस, एक समय च्याँ अर्थात चिया खाने ठाउ एउटै थियो, सुरेश चिया पसल ।
भारतबाट आएका सुरेश गुप्ताले २०४२ सालमा एलएनचौकमा राम व्रदर्शको छेउमा चिया पसल खोले । पसलको नाम केही थिएन । सबैले नाम दिए, सुरेश चिया पसल ।
५० को दशकमा धनगढीमा अर्को जमघट हुने ठाउँ थियो, जोशी टाकिज अघिल्तिरको बटाला चिया पसल ।
त्यसअघि ३० को दशकमा धनगढीको पुरानो बजार (हालको मस्जिद क्षेत्र) मा कापडाको रुख छेउमा थियो, जोरायले चिया पसल । पञ्चायत अवधिमा त्यो पसल जमघट हुने केन्द्र थियो ।
२०४६ को आन्दोलन ताका सुरेश चिया पसल र बटाला चिया पसलमा नेताहरुसंगै ग्राहकको भेषमा अनुसन्धानका कर्मचारीहरु पनि जासुसीका लागि त्यही पुग्थे । जहाँ मिल्थ्यो, आन्दोलनको सूचना ।
सुरेश र उनको चिया पसल २०४६ सालको आन्दोलन, माओवादी विद्रोह, २०६२/६३ को जनआन्दोलन र धनगढीको विकासको साक्षी हो । एक समोसा र चिया खाएर आन्दोलनकारी जुलुसमा निस्किन्थे । जुलुसबाट फर्किएर त्यही सुस्ताउथे ।
सुरेश गुप्ताले चिया बनाउन थालेको चार दशक भयो । उनी सम्झिन्छन्, त्यतिबेला टाढा टाढाबाट चिया खान आउथे । शुरुवाती दिनमा उनले चार/पाँच लिटर दुधको चिया बेच्थे । ग्राहक थपिदै गए । उनी कहाँ एक पटक चिया पिउन आउने व्यक्ति फर्केर फेरि फेरि आउन थाले ।
उनले दुध थप्दै गए । चियाका लागि दैनिक ४० लिटरसम्म दुध खपत हुन थाल्यो । त्यही चिया पसलको आम्दानीबाट घर खर्च चलाए । बालबच्चा पढाए । हुर्काए । र, बचत पनि गरे ।
उनलाई चिया बनाउन भ्याई नभ्याई हुन्थ्यो । उनकी पत्नीले चिया पसलमा सघाउन थालिन् । त्यसपछि छोरा छोरीले सहयोग गर्न थाले । त्यतिले पनि नपुगेपछि काम गर्ने कर्मचारी थपे । तर समय बदलियो, कुनै बेलाको गुल्जार सुरेश चिया पसल यतिबेला भने सुनसान छ । कुनै समय दैनिक तीन/चार सय कप चिया बेच्ने सुरेश सुनाउछन्, अहिले दैनिक १५/२० कप चिया मुस्किलले बिक्री हुन्छ । समोसाका लागि १० किलोसम्म आलु खपत हुन्थ्यो । अहिले एक किलो आलु खपत हुदैन ।
हरेक बिहान ग्राहकको घुईचो लाग्ने सुरेश चिया पसल विहीवार सुनसान थियो । चिया पिउने एक जना ग्राहक पनि थिएन । भन्दै थिए, दुई वर्षयता त बाँच्नै मुस्किल भयो ।
धनगढी उपमहानगरपालिकाले सडक विस्तारका क्रममा मूल सडकका संरचनाहरु भत्काउन थालेयता ग्राहकहरु ह्वात्तै घटेको उनको अनुभव छ । सडक निर्माण थालिएपछि बाहिरबाट ग्राहकहरु आउन छोडे । धनगढी एलएलचौकका व्यापारी त उनका नियमित ग्राहक थिए नै, हसनपुर पिपल चौतारा, क्याम्पस रोड, धनगढी गाउँ, तारानगर चौराहा, बेहडीबाट ग्राहकहरु चिया पिउन आउथे ।
पहिले पसलको भाडा सस्तो थियो । व्यापार राम्रो थियो, उनको गुनासो छ, अहिले व्यापार छैन । भाडा बढेको बढ्यै छ ।
बचत गर्ने कुरा त सोच्न छोडिसके । बाँच्ने कसरी भन्ने चिन्ताले सताउछ, उनी सुनाउछन्, ४० वर्ष यही धनगढीमा चिया बेचेर बिताए । अब यो उमेरमा कहाँ जाउ ?
४० वर्षमा यस्तो खराव अवस्था कहिल्यै आएन । कोभिडमा पनि यस्तो भएन, उनी सुनाउछन्, अचेल चिया बेचेर सागसब्जी र चामल किन्न पनि नपुग्ने भयो ।
वर्षौ कच्ची पसलमा चिया बेचे । केही समय त्यहाँबाट हाट बजार जाने बाटोमा पसल सारे । त्यहाँ व्यापार राम्रो थियो । तर शौचालयको व्यवस्था थिएन । फर्केर पुरानै ठाउँमा फर्किए । त्यो भत्कियो । र, त्यहाँ कम्प्लेक्स बन्यो । उनी कम्प्लेक्समा चिया बेच्न थाले ।
उनको व्यवहार चिया झै कडा लाग्थ्यो । यद्यपि फिक्का जीवनमा सुरेशको त्यही कडा चियाको चुस्कीको स्वाद लिदै कतिपयले नयाँ सपनाहरु बुन्थे ।
ग्राहक घटेपछि उनकै सपनाहरु अलपत्र छन्, भन्छन्, न उमेर रह्यो, न त अव कुनै सपना । खुशी हुन त एउटा ग्राहक आए पुग्छ ।
तपाईको प्रतिक्रिया