ढिके नुनको प्रयोग बढ्दो

बिहीबार माघ १७, २०८१/ Thursday 01-30-25
अविनाश चौधरी

धनगढी । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले फेरि ढिके नुन प्रयोग गर्न थालेका हुन् । 

आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या बढेको स्थानीयको जिकिर छ । आयोडिनयुक्त पोकाको नुन खाँदा उच्च रक्तचाप, थाइराइड जस्ता समस्या बढ्न थालेको कैलारी गाउँपालिका–७ का रामनाथ चौधरीले बताए । पछिल्लो समय यस्ता समस्या बढेपछि आयोडिन नुनकै प्रयोगले भएको भन्दै आफूहरूले पुनः ढिके नुन प्रयोग गर्न थालेको उनले उल्लेख गरे । 

“विगतमा ढिके नुन खाँदा हामी, हाम्रा आमाबुवामा यस्तो समस्या देखिएको थिएन”, उनले भने, “तर अहिले आयोडिन नुनको कारणले थाइराइड र प्रेसरको समस्या भइरहेको छ ।” 

आयोडिनयुक्त नुन नखाँदा गलगाँड हुने, बालबच्चाको वृद्धि विकासमा असर पुग्ने जस्ता विगतमा समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेटको नुन अनिवार्य प्रयोगमा जोड दिएको थियो । आयोडिनयुक्त नुनको प्रयोग अनिवार्य नै भएपछि ढिके नुन खाँदै आएका ग्रामीण क्षेत्रका मानिसले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका थिए । तर, पछिल्लो समय थाइराइड र उच्च रक्तचाप समस्या बढ्दो रहेको कैलारी गाउँपालिका–५ विसनपुरका रामशरण चौधरी बताउछन् । 

“आयोडिनयुक्त पोकाको नुन प्रयोग गरेको केही वर्षपछि गाउँघरमा यस्तो समस्या बढेको छ”, उनले भने,“अहिले त प्रायः मान्छे थाइराइड र उच्च रक्तचापको बिरामी बनिरहेका छन् ।” 

गाउँघरको मान्छेको खानपानमा परिवर्तन आएको छैन । उनीहरू बजारको भन्दा पनि प्रायः आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल, तरकारी, खुर्सानी खाँदै आएका छन् । पहिले र अहिलेको खानाको परिकारमा खासै परिवर्तन नभएको स्थानीय बताउँछन् । खानपानमा नुनमात्रै परिवर्तन भएकोले नुनकै कारण स्वास्थ्य समस्या भइरहेको उनीहरूको बुझाइ छ । 

ढिके नुनको प्रयोग बढ्न थालेसँगै त्यस्तो नुनको बिक्री पनि ग्रामीण बजारमा बढ्न थालेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका मानिसमा थाइराइड र उच्च रक्तचापको समस्या अत्यधिक देखा परिरहेको कैलारी गाउँपालिका–५ स्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताए। 

उनले आयोडिनयुक्त नुनको प्रयोगका कारण यस्तो समस्या भइरहेको गाउँघरमा हल्ला रहेको उल्लेख गरिन । “आयोडिनयुक्त नुनले समस्या गरिरहेको भन्ने हल्ला गाउँघरमा छ । तर, त्यहि नै सत्य हो वा होइन भन्न सकिन्न”, चौधरीले अगाडि थपे,“आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा ठीक मात्रामा छ कि छैन, त्यसमा भर पर्छ ।”