क्वारेन्टाइन व्यवस्थापनका लागि सहयोग
हसुलिया, १५ वैशाख ।
सामाजिक विकासको लागि सचेत समाज धनगढीले कैलारी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापनका लागि सहयोग गरेको छ ।
सो संस्थाले सात क्वीन्टल चामल, ३७ वटा सेनिटाइजर, १३१ थान साबुन, ब्ल्याङ्केट र झुल २०÷२० थान, बाल्टिन, जग, डोरी लगायतको सामग्री सहयोग गरेको हो ।
सीएसएसडीका मीना चौधरीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई सो सामग्री हस्तान्तरण गरिन् । सो अवसरमा गाउँपालिकाका सामाजिक विकास शाखा अधिकृत एवम् सूचना अधिकारी यगम कलेल लगायतको उपस्थिति रहेको थियो ।
कैलारी गाउँपालिकाले हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालय, बैजपुरस्थित सर्वोदय आधारभूत विद्यालय र मंझरास्थित वनदेवी आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा बस्न आउनेको संख्या बढेको हुँदा व्यवस्थापनका लागि आवश्यक सामग्रीको खाँचो रहेको जनाइएको छ ।
यसैबीच, कैलारी गाउँपालिकाको सम्पूर्ण वडामा दोस्रो चरणको राहत वितरणको कार्य सुरु गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको राहत प्रदेश सरकारकै मापदण्ड अनुसार वितरण गर्न थालिएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार वडा अध्यक्षहरुको समन्वयमा वडा सदस्यहरुमार्फत विपन्न वर्गका परिवारलाई राहत वितरणको कार्य भइरहेको छ । केही वडामा वितरणको कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया