भारतले नेपाली अतिक्रमित भूभागमा सडक निर्माण गरेकोमा आचार्यद्धारा खेद व्यक्त
नेदरल्याण्ड, २९ बैशाख ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति यूरोप संयोजक नारायण आचार्यले नेपालको अतिक्रमित भूभाग लिपुलेख भएर भारत सरकारले चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेकोमा खेद व्यक्त गरेका छन् ।
भारतद्धारा नेपाली भूभाग अतिक्रमण गरी सडक निर्माण गरेकोमा खेद व्यक्त गर्दै यूरोप संयोजक आचार्यले अतिक्रमित नेपाली भूमी फिर्ताका लागि नेपाल सरकारले यथासिघ्र भारत सरकारसंग कुटनीतिक पहलको थालनी गर्न आग्रह गरेका छन् ।
नेपाली भूभाग लिपुलेख हुँदै सडक निर्माण गर्दै गरेको समाचारले हामी सवै गैर आवासीय नेपालीहरु स्तब्ध भएका छौं, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति यूरोप संयोजक आचार्यद्धारा सोमवार जारी बिज्ञप्तिमा भनिएको छ, करिव ६ महिना अगाडि भारत सरकारले आफ्नो देशको नक्सामा पारेको नेपाली भूमिमा राजमार्ग निर्माण गर्नु अत्यन्त खेदजनक कार्य हो ।
नेपालको सहमति बिना भारत र चीनले नेपाली भूभागको प्रयोग गरेर सडक निर्माणको सम्झौता गर्नु खेद जनक भएको आचार्यले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
अतिक्रमित नेपाली भूभाग फिर्ताका लागि भारतलाई चौतर्फी दवाव दिन आवश्यक भएको जनाउदै आचार्यले भारतको हेपाहा प्रबृतिको बिरोधमा सबै नेपालीहरु एकजुट हुन आवश्यक भएको औल्याएका छन् ।
अतिक्रमित भूमि फिर्ताका लागि नेपाल सरकारलाई तत्काल कुटनीतिक पहलका लागि आग्रह गरेका आचार्यले सरकारले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताका लागि सञ्चालन गर्ने हरेक कार्यमा गैर आवासीय नेपालीहरुले सधै साथ दिने आचार्यले प्रतिबद्धता गरेका छन् ।
तपाईको प्रतिक्रिया