दुई वर्षपछि सुप विश्वविद्यालयको सिनेट बैठक काठमाडौंमा बस्दै

बुधबार पौष १, २०७७/ Wednesday 12-16-20
Paschim Today

महेन्द्रनगर, १ पुष । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सभा (सिनेट बैठक) दुई वर्षपछि काठमाडौमा बस्ने भएको छ । विश्वविद्यालयका कुलपति एवम प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पुस ३ गते सिनेट बस्ने तयारी भएको विश्वविद्यालयले जनाएको छ । 

वर्षमा दुई पटक वा नभए एकपटक अनिवार्य रुपमा बस्नुपर्ने विश्वविद्यालयको सिनेट बैठक दुई वर्षसम्म बस्न नसक्दा विश्वविद्यालयका कर्मचारीको तलब खाने बाहेकका अन्य काम हुन सकेका थिएनन् ।

सिनेट पछि विश्वविद्यालयको काम गर्नेबाटो खुल्ने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप कुलपति अम्म राज जोशीले बताए । हरेक वर्ष हुनुपर्ने सिनेट दुईवर्षसम्म हुन सकेको थिएन, विश्वविद्यालयको २०७४ देखीको खर्च अनुमोदन भएको छैन ।

उपकुलपति जोशीले भने, केही वर्षदेखि असहजता छ सिनेटले सहज बनाउला । उनले विश्वविद्यालयका केही नियम संशोधन, कार्यायोजना र बजेट लगायतका विषयमा छलफल हुने बताए ।

सिनेट बैठकले पास गरेपछि मात्रै पुँजीगत बजेट खर्च गर्न पाउने प्रावधान रहेकाले विश्वविद्यालय अन्र्तगत विभिन्न विभागमा भौतिक संरचना बनाउनपर्ने काम अधुरै छन् । 

त्यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आगामी वर्ष एमफिल र पिएचडीको अध्यापनसमेत सुरु गर्ने तयारीमा छ । पहिलो पटक कृषितर्फ बिएसीएजी तेस्रो सेमेष्टरमा विद्यार्थी अध्ययनरत छन भने इन्जिनीयरिङतर्फ एमइ र कम्प्युटर साइन्सको बिइ कार्यक्रम सञ्चालनको तयारीमा छन् ।