Close This

सरकारनै निर्लज्ज बने पछि जनताले दु:ख पाए : काँग्रेस नेता बिष्ट

मंगलबार जेठ ११, २०७८/ Tuesday 05-25-21
Paschim Today

यति बेला कोरोना भाइरसका कारण बिश्व नै थला परेको छ । यस्को प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशमा पनि छ ।   कोरोना भाइरसको बढ्दो संक्रमण र नियन्त्रणका लागि सवै जिल्लमा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाकै कारण यहाँका अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ हुन पुगेका छन् । जनताको जीवन कष्टकर बन्दै गएका बेला पीडित समुदायलाई राहत हुने कुनै ठोस कदम सरकारले नचालिरहेका बेला जनतालाई अत्यावश्यक स्वास्थ्य सामाग्री र अक्सिजन निःशुल्क बितरणको अभियानमा जुटेका सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टसंग दीपेन्द्र बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :
यतिबेला तपाईं जिल्लाका हरेक तहहरुको अनुगमनमा खट्नु भएको छ कोभिड नियन्त्रण र जनताको स्वास्थ्य अबस्थामा सरकारी पहल कस्तो महसुस गर्नु भयो ?
हेर्नुस् मैले कंचनपुरको सीमान्त दक्षिणी क्षेत्र जुन सेवा सुबिधा र पहुँचका हिसाबले पछाडी परेको क्षेत्र हो जहाँ विशेष गरि स्वास्थ्य सुबिधामा जनताको पहुँच पुग्न सकेको छैन । र वर्तमान सरकारले यहाँका जनताका लागि सर्वसुलभ स्वास्थ्य सेवा समेत दिन सकेको छैन । कोभिड १९ कोरोना भाइरसबाट अति प्रभावित पुनर्वास, बेलौरी , बेल्डाँडी र लालाझाडी यि चारवटा स्थानिय तहहरुमा जनताले सरकार भएको महसुस गर्न सकिरहेका छैनन् ।

खासमा के-के समस्या देख्नु भयो ?

विशेष गरि बर्तमान कोभिड संक्रमणबाट जनता थलिँदै गर्दा स्थानीय निकाय , प्रदेश र केन्द्र सरकारले कोरोना भाइरस नियन्त्रणमा जुन भुमिका निर्वाह गर्नु पर्दथ्यो त्यो गर्न सकेन । सरकारमा जनता जोगाउने इच्छा शक्ति देखिएन । यो बिपतका बेला जनताको घर दैलोमा सरकार र जनप्रतिनिधि हरुले उभिन सक्नु पर्थ्यो । तर त्यसो नगरी बिपदका बेला पनि जनप्रतिनिधि कमिसनको खेल र भ्रष्टाचारमा डुबेको छ । महाबिपतका बेला आफुले मतदान गरि जिताएका जनप्रतिनिधिहरु समेत निर्लज्जता पुर्वक बसिरहेका छन । जनताले यतिबेला सरकार र जनप्रतिनिधिको साथ खोजेका छन् तर त्यसो हुन सकेन ।

नेताज्यु तपाइले भन्नू भएको कोरोना भाइरस नियन्त्रणमा सरकारको इच्छा शक्ति देखिएन भन्नू भयो के के गरिन पर्थ्यो र किन यसो भएन ?

मैले अघि पनि केही बुँदाहरु राखे के यो कोरोना भाइरसका कारण उत्पन्न महामारी एकाएक अकस्मात आएको हो र ? होइन नि एक वर्ष अघि देखि कोभिड १९ भाइरसको संक्रमणले महामारीको रुप लिएको हो नि । किन यति लामो समयसम्म सरकारले भाइरसका कारण उत्पन्न महामारी नियन्त्रण , रोकथाम र सहज र सुलभ उपचारको लागि नीति , योजना र कार्यक्रम ल्याउन सकेन ? यो प्रश्न जनताले गर्ने कि नगर्ने ? पोहोर साल पनि नेपालमा कोरोनाले बितण्डा मच्चाएकै हो तर पनि खोइ सरकारले जनतालाई सहज स्वास्थ्य उपचार र नियन्त्रणमा प्रभावकारी भुमिका खेलेको समय प्रशस्त थियो सरकार संग चाहेको भए हरेक पालिका तहमा गुणस्तरीय अस्पताल बनाउन सक्थ्यो । नभए हरेक निर्वाचन क्षेत्रमा त सकिन्थ्यो नि बनाउन तर सारकार र जनप्रतिनिधिहरुको चाहना देखिएन । कम्तिमा हरेक निर्वाचन तहमा चालू आर्थिक वर्षकै सुरुमा अक्सिजन प्लान्ट स्थापना गरेको भए आज अक्सिजनको अभावमा जनताको अकाल मृत्यु हुनेथिएन । अघिल्लो वर्षको बिपतबाट सरकारले सिकाइ लिन सक्थ्यो र भाइरसको संक्रमण बाट जनतालाई जोगाउन सरकार सफल बन्न सक्थ्यो तर जनताको दुर्भाग्य सरकार र जनप्रतिनिधिहरुले यसो गर्न सकेनन् ।

 जनता बिपतमा परेको बेला सरकार र निर्वाचित जनप्रतिनिधिहरुको पहल नभएका बेला तपाइले कसरी पहल गरिरहनु भएको छ ?

सरकारले केही गरोस जनताले चहान्थे । तर सरकारले केही गर्न सकेन अब यो बेला प्रमुख प्रतिपक्षी भएका नाताले हाम्रो पनि दायित्व हो जनता बिपतमा परेका बेला हामीले केही गर्नु पर्छ र थोरै भए पनि राहत पुगाउनु पर्छ भन्ने हिसाबले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाकै लागि बिरामीहरुलाई अक्सिजन तथा कोभिड अस्पताललाई एक्सिमिटर , पंखा लगायतका उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आइएको हो । अहिले अक्सिजन भन्दा पनि जनतालाई कसरी दीर्घकालीन रुपले स्वस्थ बनाउने यो नै महत्व पुर्ण हो । सबै जनतालाई सरकारले बिलम्ब नगरी खोप लगाउने अभियान थाल्नु पर्छ । अहिले पनि दुर दराज र विकट ठाउँका जनता इन्टरनेटको सुबिधाबाट वंचित रहेका बेला सरकारले खोपको लागि अनलाईन दर्ता सुरु गर्नु गलत हो । सरकारको यो नीतीबाट सहज र सुगम ठाउँमा खोपको लागि नाम दर्ता गर्लान् तर दुर्गम ठाउँका जनतालाई बञ्चित पार्नेछ तसर्थ यो काम रोजेर टोलटोलमै नाम दर्ता गरि अनिवार्य खोप लगाउने ब्यबस्था गर्नु पर्छ ।

सहज स्वास्थ्य सेवाका हिसाबले जनताले कष्टकर जीवन बिताइरहँदा प्रतिपक्षीका हिसाबले तपाईं र नेपाली काँग्रेसको तर्फबाट सरकारको ध्यानाकर्षण कत्तिको पहल भए ?

सरकारनै निर्लज्ज बने पछि कसको के लाग्छ । नेपाली काँग्रेसले संसद होस कि अन्य अनौपचारिक रुपमा होस बारम्बार घचघच्याउने काम भएकै छ । तर कोरोना भाइरस नियन्त्रण , सहज स्वास्थ्य सेवा लगायतका अन्य थुप्रै बिकासका कामहरुका लागि सरकार चिन्तित देखिएन । तपाइहरुले पनि देखि रहनु भएको छ नि सरकारको चाला त । संविधान मिचेरै भए पनि सत्ता र कुर्सी कसरी जोगाउने भन्ने ध्याउन्नमा सरकार लागेको छ । कुर्सी मात्रै देख्ने सरकारका आँखाले जनताका पीरमर्का देख्न सकेन । महामारीका बेला सरकारनै निर्लज्ज बने पछि जनताले दुःख पाए ।