Close This

सुरुमा अस्पताल सञ्चालन गर्न निकै कठिन भयो : डा. पाण्डेय 

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21
Paschim Today

धनगढी,१६ असोज । डडेल्धुरामा जन्मिएका चन्द्रप्रकाश (सीपी) पाण्डेयले प्राथमिक तहको शिक्षा धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पुरा गरे । थप पढाईका लागि उनी काठमाण्डौंको सिद्धार्थ बनस्थली भर्ना भए ।

६ कक्षामा सिद्धार्थ बनस्थली भर्ना भएका पाण्डेयले त्यहीबाट एसएलसी पास गरे । अमृत साईन्स कलेजबाट आईएस्सी पुरा गरे । एमवीवीएस र एम एसको पढाई भने महाराजगञ्जबाट पुरा गरे । नेपाल मेडिकल कलेज जोरपाटीमा काम गरेपछि डा. पाण्डेय कोहलपुर मेडिकल कलेज आईपुगे । जहाँ उनले साढे चार वर्ष सेवा गरे । र, त्यहाँबाट उनी पुगे, चितवन । अनि चितवन मेडिकल कलेजमा साढे चार वर्ष सेवा गरे ।

उनी डाक्टर भएपछि धनगढीमै फर्केर सेवा गर्न चाहन्थे । तर उनले आँट गर्न सकेका थिएनन । लामो समय चितवन मेडिकल कलेजमा काम गरेपछि भने उनको मनले त्यहाँ बसिरहन मानेन । उनी सेवा सुबिधा र अवसर सबै छोडेर धनगढी आए । र, यहाँ शुन्यबाट सेवा गरे । चितवनमा उनी काम गरे वाफत आकर्षक तलव पाउथे । त्यहाँ कामले मान, सम्मान र प्रतिष्ठा पनि कमाईसकेका थिए ।

यहाँ त उनी आफ्नै आगनमा नयाँ थिए । उनलाई धेरैले चिनेका थिएनन ।  उनले जोखिम उठाएरै २०७० सालमा धनगढीमा सीपी अस्पताल खोले । पहिले तलव खान्थे । यहाँ त महिना मरेपछि अरुलाई तलव खुवाउनु पर्ने दायित्व पनि थियो, उनीमाथि । उनी रातदिन नभनी खटे । त्यही खटाई र मिहिनेतले डा. सीपी पाण्डेय छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भए । र आज त्यही पहिचान र गुणस्तरीय स्वास्थ्य सेवाले सीपी अस्पताल चलेको छ । एक वर्षसम्म एक्लै अस्पताल चलाएका डा. पाण्डेयको साथमा यतिबेला आठ जना बिशेषज्ञ डाक्टर र दुई जना मेडिकल अफिसर छन् ।

‘एक दशकअघि सुदूरपश्चिममा बाहिरबाट डाक्टर आउन तयार हुदैनथे, डा. पाण्डे सम्झिन्छन्, ‘ एक वर्ष अस्पताल एक्लै चलाए । एक वर्षपछि काठमाण्डौंबाट एक जना फिजिसियन ल्याए । अहिले त सुदूरपश्चिम मेडिकल हव नै भएको छ । निजी अस्पतालमा सेवा गर्न बाहिरबाट डाक्टरहरु आउने क्रम तिब्र भएको छ ।
पाँच जनाको लगानीमा ८० लाख रुपैयाबाट शुरु भएको सीपी अस्पताल अव चटकपुरमा आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा जुटेको डा.  पाण्डेयले बताए ।

सर्जरीबाट सेवा सुरु गरेको सीपी अस्पतालले अहिले अप्रेशन सेवा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्याथोलोजी तथा फार्मेसी सेवा, अल्ट्रासाउण्ड तथा एक्सरे सेवा, जनरल वार्ड तथा प्राइभेट क्याविन, भिडियो इन्डोस्कोपी र कोलोनोस्कोपी दैनिक ओपीडी सेवा, जनरल सर्जरी, फिजिसियन, हाडजोर्नी तथा नशा रोग, यूरो सर्जरी, मिर्गौला तथा मुत्र रोग, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, फिजियोथेरापी सेवा दिइरहेको छ ।नकट भविष्यमा थप सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालको योजना रहेको छ ।