Close This

मुगु बस दुर्घटना : बसको टायर पङ्चर हुँदा दुर्घटना

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

मुगु,२७ असोज । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।

सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडौँलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ ।