Close This

कविता : मैले जिउने जिन्दगीको

आइतबार कार्तिक २८, २०७८/ Sunday 11-14-21
Paschim Today

मैले जिउने जिन्दगीको ,
एउटा कठिन सवाल तिमी !
सवाल भित्र अल्झिएको ,
अझ कठिन जवाफ तिमी !!

मेरा दर्जनौ सम्बन्ध बिचको, 
एउटा अनुपम सम्बन्ध तिमी !
कहिले खुला आजादी त, 
कहिले परिवन्द तिमी !!

मेरा हजारौ रुची  बिचको ,
एउटा अलौकिक रुची तिमी !
पखाली नसकिने दुख बिचको  ,
सम्हाली नसक्ने खुशी तिमी !!

मेरा हजारौ साथ बिचको ,
एउटा विस्वासिलो साथ तिमी !
औंशीको अध्यारो छिचोलेर ,
भेटेको जुनेली रात तिमी !!

मलाइ हेर्ने आँखा  मध्ये ,
एउटा सुन्दर आँखा  तिमी !
मेरा शब्द समेटेर , 
गुञ्जने मधुर भाका तिमी !!

मेरा अनगन्ती सपना मध्ये, 
एउटा खास सपना तिमी !
मैले बाचेको  जिन्दगीको ,
एउटा मिठो बिपना तिमी !!

मेरा हस्तरेखा बिचको ,
प्रमुख भाग्य रेखा तिमी !
मेरो मनको अधेरिमा, 
मैनबत्तीको शीखा तिमी !!