Close This

थारु समुदायमा माघ पर्वको चहलपहल

शनिबार माघ १, २०७८/ Saturday 01-15-22
अविनाश चौधरी

‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक पिली गुरी–गुरी जाँर, सखिये हो....’ 
बाबाके सगरुवा मुरिये लहाने रे हाँ, सखिये हो सेन्दुर छुटल पानी घाट, सखिये हो...’ 

चिसो मौसम । अनि, मौलिक संस्कृतिले ओतप्रोत यस्ता गीतहरु । जताततै गुञ्जिएको सुनिँदा अनुमान लगाउन गाह«ो हुँदैन, माघ (माघी) आइसक्यो भनेर । थारु बस्तीमा यत्रतत्र गुञ्जिन्छन् यस्ता गीत, माघ पर्वको सुरुदेखि अन्तिमसम्म ।

तराईमा बसोबास गर्ने थारु समुदायको सबैभन्दा ठूलो पर्व हो, माघ । यतिमात्रै नभएर यो जातिले माघलाई नयाँ वर्षको रुपमा लिने गर्दछन् । त्यसैले, हप्तौ दिनदेखि तयारी गरेर धुमधामसंग माघ पर्व मनाउने गरिन्छ । गाउँघरमा माघको रौनक छुट्टै हुने गर्दछ । माघदेखि थारु समुदायको आफ्नो छुट्टै सम्वत सुरु हुने गर्दछ ।
माघ पर्वको साँस्कृतिक, सामाजिक महत्व रहेको छ । यो पर्वमा थारु समुदायले ठूलाबडाको आशिर्वाद लिने, परिवारले वर्षभरि गरेको कामको समीक्षा गर्ने, आगामी दिनमा गर्ने कामको योजना बनाउने, नेतृत्व चयन गर्ने लगायतका कार्य गर्दछन् । यो संगै बालबालिकादेखि जवान, जवानदेखि वृद्धवृद्धासम्म रमाउने गर्दछन् । 
कसरी मनाइन्छ माघ ?
पुस महिनाको अन्तिम दिनबाट सुरु हुने गर्दछ, माघ पर्व । यो दिन, प्रत्येक गाउँमा सुङ्गुर मारेका हुन्छन् । जसलाई स्थानीय भाषामा ‘जिता मर्ना’ भनिन्छ । आज गाउँमा जिता मारेर माघको सुरुवात गरिएको छ । वर्षभरिको दुःखसुखलाई बिर्सेर मिठोमसिनो खाने दिन हो, यो । त्यसैले मासु खाने गरेका प्रत्येकको घरमा सम्भवतः सुङ्गुरको मासु हुने गर्दछ । यो अनिवार्य जस्तै हो । वर्षभरिमा एक दिन पनि आफ्ना परिवारका सदस्यलाई मासु खुवाउन नसकेकालेसमेत माघमा मासु खानु पर्ने भनाइ रहेको पाइन्छ । 

जिता मर्ना माघ पर्वको पहिलो दिन हो । यो दिन घरपरिवार बसेर मिठो–मिठो खाने र रमाइलो गर्दछन् । खानपिन र राहरङ्गित गर्ने दिनको रुपमा लिने गरिन्छ, माघको पहिलो दिनलाई । पहिलो दिनको साँझ घरपरिवार, इष्टमित्र, आफन्त, गाउँवासी मिलेर मिठो–मिठो खाँदै मघौटा नाच नाच्ने चलन छ । यसैगरी, अगेनामा आगो ताप्दै ‘डफ’ बजाएर रातभरि धमार गीत गाउँदै रमाउने पनि गरिन्छ । धमार गीत थारु समुदायको मौलिकता झल्काउने लोकगीत हो । पहिलेको निकै लोकप्रिय यो गीत पछिल्लो समय भने कम चलनचल्तीमा रहेको पाइन्छ । 

माघ पर्वको अत्यन्त महत्वपूर्ण दिन हो, माघ १ गते । यहि दिनबाट सुरु हुन्छ, थारु समुदायको नयाँ वर्ष । नयाँ वर्षको दिनलाई स्थानीय भाषामा ‘माघ लहान (माघको नुहाउने दिन)’ भनेर बुझिन्छ । माघ १ गते उज्यालो नहुँदै विहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ र, अनिवार्य पनि । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको छ । माघमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रहि आएको छ । यसरी विहानै नुहाउनले पूण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । यसैगरी, वर्षभरि जानेर वा अन्जानमा गरेको पाप पनि क्षमा हुने गरेको विश्वास गर्छन्, कतिपयले । यो दिन प्राणी हत्या गर्न बर्जित गरिएको छ ।

माघ नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थाप्ने गर्दछन् । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवारहुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।

सेवा ढोगपछि ढिक्री, तरुल, मासु जस्ता परिकार र जाँड खाने पनि गरिन्छ । यो दिन आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको बुझाइ रहेको छ ।

‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, अधिवक्ता जोहारीलाल चौधरी भने–‘कसै कसैबीच मनमुटाव छ भने हृदयदेखी नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रहि आएको छ । 

माघ २ गते माघ पर्वको विदाई दिन हो । यो दिनलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिन खिचडी भात खाने, साना बालबालिकालाई मेलापात लैजाने गरिन्छ । यसैदिन विवाहित छोरी चेलीलाई उपहार दिने चलन पनि छ, जसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । यसैगरी, माघ पर्वको तेस्रो दिन परिवार, गाउँघरको वर्षभरिको समीक्षा गर्ने, योजना बनाउने, नेतृत्व चयन गर्ने गरिन्छ, जसलाई स्थानीय भाषामा ‘खोज्नीबोज्नी’ भनिन्छ । खोजनीबोजनीपछि परिवार, गाउँमा घर बनाउने, विवाह लगायतका कार्य विधिवत रुपमा शुरु हुने गर्दछ । 
के हो, खोज्नीबोज्नी ?
थारु समुदायको परिवारदेखि गाउँ प्रजातान्त्रिक अभ्यासमा नेतृत्वकर्ताबाट चल्दै आएको छ । परिवारमा घरको मुली हुन्छन् भने । गाउँमा भलमन्सा । निर्णय प्रक्रिया र कामको बाँडफाँडमा यिनीहरुको महत्वपूर्ण भूमिका रहन्छ । घरमूली वा भलमन्सा परिवार वा गाउँका सबै व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ । त्यसैले यसलाई प्रजातन्त्रको नमूना अभ्यासको रुपमा पनि लिने गरिन्छ । खोज्नीबोज्नीमा कामको समीक्षादेखि लिएर वर्षभरिका लागि योजना निर्माण र नेतृत्व चयन गर्नेसम्मको कार्य पर्दछ ।

खोज्नीबोज्नीमा घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुन्छ । यहि दिनबाट एक वर्षको लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अङ्शबण्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ ।

यसकासाथै, गाउँ, टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने गर्दछ । यदि, नेतृत्वकर्ताले सबै काम राम्रोसंग गरेकाछन् भने गाउँभरिका स्थानीयको भेलाले पुरस्कार स्वरुप पुनः अर्को वर्षका लागि तिनै व्यक्तिलाई जिम्मेवारी सुम्पिने पनि गरिन्छ । राम्रा काम गरेकाहरु लगातार एक÷दुई दशकसम्म गाउँको नेतृत्व गरेको कैलालीमै थुप्रै उदाहरण रहेको छ । 
माघमा खाने परिकारहरु
माघ पर्वमा विशेष गरेर ढिक्री, सुङ्गुरको मासु, माछा, खिचडी भात खाने गरिन्छ । ढिक्री चामलको पिठोबाट बनाइने परिकार हो ।  


 

माघ पर्वको महत्व
अचेल थारु समुदायले माघ पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आएपनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । माघ आपसी सम्बन्ध प्रगाढ बनाउने, साँस्कृतिक रुपमा थारु समुदायको मौलिक खानपान, भेषभूषा दर्शाउने सामुदायिक पहिचानको मुख्य पर्व हो । गतविगतमा माघ पर्वकै अवसरमा कमैया, कमलरी, बुक्रहीले वर्षभरीमा एकचोटी रमाइलो गर्नका लागि माघमै विदा पाउने गर्दथे । त्यसैले यो वर्गले माघलाई स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने चलन रहेको छ । 

‘माघ धार्मिक रुपमा पूण्य प्राप्त गर्ने, सामाजिक रुपमा आपसी सम्बन्ध प्रगाढ बनाउने र साँस्कृतिक रुपमा आफ्नो कला, संस्कृतिलाई संरक्षण गर्ने पर्व हो’, थारु अगुवा दिलबहादुर चौधरीले भने । 
कोरोनाले पर्वमा असर
तीन वर्षदेखि विश्वलाई आक्रान्त गरिरहेको कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको बेला परेको माघ पर्वले सङ्क्रमण बढाउन सक्ने जोखिम छ । थारु समुदायले माघ १ गते सेवा ढोग, सेवा सलाम लाग्ने र मान्यजनबाट आशिर्वाद लिने चलन छ ।

यस्तो कार्य गर्दा सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जो कोही पर्न सक्ने सम्भावना छ । यसैगरी, जमघट गरी रमाइलो पनि गरिन्छ । यस्ता कार्यले सङ्क्रमण बढाउन सक्नेतर्फ सबै सचेत हुन आवश्यक छ । सकेसम्म यो वर्ष टाढैबाट खुशीयाली साटासाट गर्नु नै बेस हुनेछ । किनभने, महामारीबाट जोगिने र जोगाउने कार्य भएमा हरेक वर्ष नै माघ पर्व मनाउन पाइनेछ ।