Close This

मावि तहमा साढे ३६ हजारभन्दा बढीको आवेदन

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

काठमाडौँ,१० माघ । शिक्षक सेवा आयोगले खोलेको माध्यामिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढीको आवेदन परेको छ। आयोगका अनुसार एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएका छन्। मावि तहको शिक्षक पदको लागि माघ ८ गतेसम्म आवेदन अवधि तोकिएको थियो।

निमावि तहको पुस ७ गते खोलिएको विज्ञापनमा ८७ हजारभन्दा बढी र प्रावि तहमा ९८ हजार बढीले आवेदन दिएको आयोगले जनाएको छ। निमावि तहमा दोब्बर दस्तुरसहित माघ १५ गतेसम्म आवेदन भर्न सकिने छ भने प्रावि तहमा २० गते सम्म दोब्बर दस्तुरसहित आवेदन दिन सकिने छ। आयोगका अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्।

यस्तै निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएका छन। आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ। निमावि र प्रावि तहको आवेदन दिने समयअवधि बाँकी रहेकाले यो संख्या अझै बढ्ने आयोगको अनुमान छ।