Close This

जनक रसिकको उपन्यास दोरी प्रकाशित

सोमबार चैत २८, २०७८/ Monday 04-11-22
Paschim Today

धनगढी,२८ चैत । सुदूरपश्चिमका चर्चित युवा लेखक जनक रसिकको पहिलो उपन्यास दोरी प्रकाशन भएको छ ।विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

सुदूरपश्चिममा टिकटमा रचना वाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरूको सृजनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन् ।

साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन् ।

२०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल सङ्ग्रह युगीन सपना प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता सङ्ग्रहहरू पनि प्रकाशित छन् । पछिल्लो पटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धी ऐतिहासिक पुस्तक नीति निर्माता प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढङ्गले कलम चलाउँछन् ।

नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यास मार्फत रसिकले यो विषय सशक्त ढङ्गले प्रवेश गराएका छन् ।उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमञ्जसता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुन सक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।

भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका रसिक साहित्यलाई केवल एक विधाको रुपमा मात्र नबुझी आधुनिक समाज र जीवनशैली सुव्यवस्थापनको महत्त्वपूर्ण साधनको रुपमा बुझ्नुपर्ने मान्यता राख्दछन् । काठमाडौँस्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास आगामी साता औपचारिक कार्यक्रमका साथ सार्वजनिक हुने बताइएको छ ।