भौतिक मन्त्रालयद्वारा जलविद्युत आयोजनाको सम्भाव्यतामा अढाई करोड विनियोजन

धनगढी, ८ असार । सम्भाव्यता अध्ययन भइसकेका तीन वटा जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनकै लागि सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
नाम नै नखुलाइएका जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनका लागि थप एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो सहित सम्भाव्यता अध्ययनमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
अपर सुर्नया गाड जलविद्युत आयोजना बैतडीको सम्भाव्यता अध्ययनका लागि ६० लाख विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले नौगाड जलविद्युत आयोजना दार्चुला र सुर्नया जलविद्युत आयोजना बैतडीको सम्भाव्यता अध्ययनका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरेको छ ।
पाँचौँ तथा अन्तिम वर्षमा प्रदेश सरकारले सम्भाव्यता अध्ययनका नाममा यति ठूलो रकम विनियोजन गरेको हो ।सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नका लागि बजेट विनियोजन गरेको नौगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनकै नाममा २० लाख रुपैयाँ विनियोजन गरेको छ । जबकि नौगाड जलविद्युत आयोजनाको निर्माणका लागि प्रदेश सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।
तपाईको प्रतिक्रिया