स्वास्थ्यकर्मी अभावमा जिल्ला अस्पतालमा पीसीआर सेवा बन्द

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

पूर्वी नवलपरासी, २४ साउन । गत असारसम्म म्याद रहेका ३६ स्वास्थ्यकर्मीको पुनर्नियुक्ति नहुँदा जिल्ला अस्पतालको पीसीआर सेवा बन्द भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षका लागि करारमा नियुक्ति दिएका कर्मचारीको म्याद सकिएपछि नयाँ कर्मचारी पठाएको छैन ।

जिल्ला अस्पतालका सूचना अधिकारी छवि सुवेदीका अनुसार पीसीआर ल्याबमा समेत कार्यरत स्वास्थ्यकर्मीको म्याद सकिएकै दिनदेखि (गत असार मसान्त) जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण गर्ने पीसीआर ल्याब बन्द छ । साउनयता जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण हुन सकेको छैन । ल्याब छ, कर्मचारी छैनन्, सुवेदी भन्छन्, मन्त्रालयले नयाँ कर्मचारी नपठाएका कारण सेवा बन्द भएको हो ।

यहाँका कोरोना संक्रमित पीसीआर परीक्षणका लागि भरतपुर वा पोखरा जान बाध्य छन् । करारमा रहेका चिकित्सक, स्टाफ नर्स, अहेब र स्वास्थ्य सहयोगीको गत असार मसान्तमा म्याद सकिएपछि जिल्लामा रहेको एकमात्र पीसीआर ल्याब बन्द छ । पूर्वी नवलपरासीको यो जिल्ला अस्पताल बाहेक अन्यत्र कहीँ पनि कोरोना संक्रमणको परीक्षण गर्ने पीसीआर ल्याब छैन ।

सञ्चालक समिति नहुँदा समस्या

जिल्ला अस्पतालमा स्थानीय डा. गोपाल खनालको अध्यक्षतामा रहेको अस्पताल सञ्चालक समितिको पनि गत असारमा म्याद सकिएको हो । म्याद सकिएको करिब २ महिना बितिसक्दा पनि प्रदेश स्वास्थ्य मन्त्रालयले नियुक्ति दिने सञ्चालक समिति गठन नगरेका कारण अस्पतालको नियमित काम कारबाही प्रभावित बनेको छ ।

समितिले राख्न सक्ने कर्मचारीको नियुक्ति समेत हुन नसक्दा अस्पतालको सेवा प्रभावित भएको सूचना अधिकारी सुवेदी बताउँछन् । समितिको अध्यक्ष बन्न यहाँ कांग्रेस र माओवादीबीच हानथाप छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल यही जिल्लाका भएका कारण आफूहरुले सञ्चालक समिति पाउनुपर्ने माग कांग्रेसको रहेको छ । प्रदेश स्वास्थ्यमन्त्री माओवादी रहेका कारण आफूले सञ्चालक समिति पाउनुपर्ने माग माओवादीको रहेको श्रोतको भनाइ छ ।