Close This

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

काठमाडौँ,२४ साउन ।  नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलो पटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ ।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने।

उनी हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै छन्। यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उनले बताए ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ। त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रो पटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।