Close This

पुल नबन्दा जोखिम मोलेर डुुङ्गामा ओहोरदोहोर

शुक्रबार भदौ ३, २०७९/ Friday 08-19-22
Paschim Today

धनगढी,३ भदौ । पुल बन्न सुरु भएपछि भजनीका रङ्ग बोहरा खुशी थिए । उनलाई लागेको थियो, अब त भोग्दै आएका समस्याको केही वर्षभित्रै समाधान हुनेछ । तर, ११ वर्ष भयो, न पुल बनेको छ न त भएको छ समस्याको समाधान ।

‘पुल नबनेपछि हामी वर्षौदेखि डुङ्गामै कान्द्रा नदीमा ओहोरदोहोर गर्न बाध्य छौं’, उनले भने,‘पुल बनाउने ठेकेदार भाग्यो भन्ने सुनिन्छ । हाम्रो दुःखको अन्त्य भएन ।’ पुल नबन्दा जोखिम मोलेर ओहोरदोहोर गर्नु आफूहरुको नियति नै बनेको बोहराको भनाइ थियो ।

कैलालीको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको कार्य पूरा नभएपछि जोखिम मोलेर ओहोरदोहोर गर्नु पर्ने बाध्यता रहेको हो । पुल नबन्दा भजनीवासीमात्रै हैन हुलाकी राजमार्ग भएर हिड्ने जोकोहीले पनि सास्ती खेप्नु परेको छ । सो मार्ग भएर कान्द्रा नदी वारपार गरी गन्तव्यतर्फ जान खोजेका सबैले अहिले डुङ्गामार्फत नदी नतरी सुख्खै छैन ।

वर्षा याममा नदी वारपार गर्नुको विकल्प डुङ्गामात्रै रहेको बोहराको भनाइ थियो । उनले भने,‘कान्द्रा नदीमा झोलुङ्गे पुल त बनेको छ । तर, नजिक छैन । हामी यहाँका स्थानीयको ओहोरदोहोरको एकमात्र माध्यम डुङ्गा हो ।’ 

हुलाकी राजमार्गमा आवतजावत सहज बनाउनका लागि भजनी नगरपालिका–३ को थेकीपुरमा पक्की पुल निर्माणको कार्य २०६८ बाट सुरु गरिएको थियो । ११ वर्ष भइसके पनि सो पुल सम्पन्न हुन सकेको छैन । पुल अधुरै छोडेर ठेकेदार भागेपछि निर्माण कम्पनीसंग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । 

हुलाकी राजमार्ग आयोजनाका इन्जिनीयर पदम मडैका अनुसार अब पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम गरिनेछ । अघिल्लो पटक चार करोड ४३ लाख रुपियाँमा साल्पा÷शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो । ३० महिना समायवधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि बनाउन नसकिएपछि हुलाकी राजमार्गको आयोजनाले अघिल्लो ठेकेदारसंग ठेक्का तोड्न लागेको हो । 

दशक लामो समय भइसक्दा पनि पुल निर्माण कार्य पूरा नभएपछि स्थानीयसहित जनप्रतिनिधिमा पनि नैराश्यता छाएको छ । कान्द्रा नदीमा जनताको दुःख देखेर मन पोल्ने गरेको भजनी नगरपालिका–३ का वडा अध्यक्ष विक्रम चौधरीले बताउँछन् । ‘पुल नबनेपछि जनता निकै दुःखकष्ट गरेर डुङ्गामार्फत नदी तर्न बाध्य छन्’, उनले भने ।  

नदीमा निर्माणाधीन पुलको काम पूरा नभएपछि करिब दुई÷तीन किलोमिटर दूरीको फरकमा ठेकेदारले दुई वटा घाटमा ठेक्का लिएर डुङ्गामार्फत मान्छेलाई तार्दै आएका छन् । एक वर्षका लागि एक लाख ५१ हजार ५०० रुपैयाँमा ठेक्का लिएर करमदेव घाटमा डुङ्गा सञ्चालन गर्दै आएको लोकबहादुर कुमालले जानकारी दिए । उनले आफूसहित पाँच जना साथीहरु मिलेर घाट ठेक्का लिएको बताए । 

‘हामीले यहि असारबाट ठेक्का पाएका हौं’, ठेकेदार कुमालले भने,‘आगामी असार मसान्तमा हाम्रो ठेक्का अवधि सकिन्छ ।’ नदीमा सामान्य पानी भएको बेला मान्छेसहित मोटरसाइकल डुङ्गामार्फत तारेवाफत ४० रुपैयाँ शुल्क लिइने गरिएको छ । यदि, बाइकमा तीन जना बसेका छन् भने, ५० रुपैयाँ शुल्क लिइने गरिन्छ । नदीमा ठूलो बाढी भएमा १०० रुपियाँसम्म शुल्क लिने गरेको जनाइएको छ ।

विद्यार्थी, पोशाकमा रहेका कर्मचारीको भने शुल्क नलिने गरेको कुमालले बताए । नदीमा पानीको अवस्था हेरेरमात्रै डुङ्गा सञ्चालन गर्ने गरेको उनको भनाइ छ । ‘बढी जोखिम देखिएको बेला हामी डुङ्गा सञ्चालन गर्दैनौं’, उनले भने । भजनी नगरपालिकाकै लालबोझी घाटमा भने अर्को ठेकेदारमार्फत डुङ्गा सञ्चालनको कार्य भइरहेको छ ।