Close This

प्रचार–प्रसारका लागि धनगढी पुग्यो ‘प्रेम गीत–३’ को टोली

बिहीबार भदौ ३०, २०७९/ Thursday 09-15-22
Paschim Today

धनगढी,३० भदौ । नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टोली बिहीबार धनगढी पुगेको छ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शनी मिति नजिकिएसँगै प्रचार–प्रसारका लागि टोली कैलालीको धनगढीमा पुगेको हो। असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचार-प्रसार गरेको छ। टोलीले धनगढीस्थित सुदूरपश्चिमाञ्चल कलेजमा चलचित्रको प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरेको थियो। 

चलचित्रका टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसँगै पत्रकार भेटघाट गरेको छ। चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो। सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए।

यस्तै, प्रेम गीत तीनले सुदूरपश्चिम प्रदेशको भेसभुसा रहन सहन कला संस्कृति र प्रकृतिको समेत प्रतिनिधित्व गर्ने नायक प्रदीप खड्काले बताए।

नेपालका विभिन्न भागमा पुगी छाँयाकन गरिएको सो चलचित्रको निर्माणका क्रममा आठ करोड बढी रकम खर्च भएको निर्माण कम्पनीले जानकारी दिएको छ। चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।