देवहरियामा आन्तरिक पर्यटकको चहलपहल

सोमबार कार्तिक २१, २०७९/ Monday 11-07-22
Paschim Today
फाइल तस्विर

धनगढी,२१ कात्तिक । कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।उद्यानलाई व्यवस्थित गरिएपछि अवलोकन गर्नेहरुको चहलपहल बढ्न थालेको हो ।

वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालू आर्थिक वर्षको तीन महिनामामात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन् । उनीहरुबाट पाँच लाख १७ हजार २१५ रुपैयाँ राजस्व सङ्कलन भएको वनस्पति अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यसैगरी, गत आर्थिक वर्षको असारमा करिब ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

स्थापनाको धेरै समयसम्म निःशुल्क प्रवेश दिइएको देवहरिया वनस्पति उद्यान अवलोकनका लागि अब शुल्कको व्यवस्था गरिएको छ ।

शुल्क व्यवस्थाबारे राजपत्रमा प्रकाशित भएपछि वनस्पति अनुसन्धान केन्द्रले अवलोकनकर्ताबाट सीमित शुल्क लिन थालेको हो । वन नियमवाली २०७९ ले वनस्पति उद्यान प्रवेशमा शुल्क लिने व्यवस्था गरेको छ । सो व्यवस्थाको वन नियमावली गएको असारमा राजपत्रमा प्रकाशित भएको थियो । त्यहि बेलादेखि प्रवेश शुल्क लिन थालिएको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताए ।

‘स्थापनाकालदेखि नै यो निःशुल्क थियो । तर, वन नियमवालीले नै शुल्क लिन भनेपछि लिन थाल्यौं’, उनले भने,‘यसले राजस्व सङ्कलन हुनुका साथै भिजिटरलाई व्यवस्थित गर्न सहयोग पुगेको छ ।’ 

यो उद्यानमा दुई सयभन्दा बढी वनस्पति रहेको छ । साल–साजदेखि हर्रो–हर्ब लगायत छन् । उद्यान र उद्यानमा रहेका वनस्पति अवलोकनका लागि आन्तरिक पर्यटक, विद्यार्थी लगायत आउने गरेका छन् ।केन्द्रले १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको पाँच रुपैयाँ, विद्यार्थीको १० र वयस्कको प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

१४९.५ हेक्टर क्षेत्रफलमा रहेको देवहरिया उद्यानलाई देशकै उत्कृष्ट वनस्पति अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको प्रमुख भट्टले बताए । ‘यस्तो क्षेत्र भएको बोटानिकल गार्डेन हाम्रो देशमा कहिँ पनि छैन’, उनले भने,‘भोलिका दिनमा धनगढीको स्वाँस फेर्ने ठाउँ यहि हो । यसलाई सेन्टर अफ एक्सलेन्स बनाउने लक्ष्य छ ।’

यो उद्यानमा जाखोर ताल, मुरफुट्टा, मुरफुट्टी गरी करिब २० हेक्टर ताल क्षेत्र रहेको छ । यसैगरी, उद्यानमा वनस्पतिको अनुसन्धान, संरक्षणको कार्य हुँदै आएको छ । यसमा मेन्था, गुर्जो लगायतका वनस्पतिको अनुसन्धान गरिदैं आएको छ । यस्तै, चुरे र तराई क्षेत्रमा पाइने सबै प्रजातिका वनस्पतिको संरक्षण हुँदै आएको छ । 

निकट भविष्यमा यसमा पर्यापर्यटनका लागि ठाउँ–ठाउँमा पानी धारा, फुटपाथ बनाउनुका साथै केही रेस्टुरेन्ट राख्ने भट्टले बताए ।देवहरिया उद्यानमा चाडपर्वका बेलामामात्रै नभइ अन्य समयमा पनि घुम्न र वनस्पति अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

त्यस्तै, बेला–बेला विद्यार्थी पनि वनस्पति अवलोकनका लागि देवहरिया वनस्पति उद्यानमा आउने गरेका छन् । घुम्नका लागि आन्तरिक पर्यटक पुग्दा उद्यान आसपासको क्षेत्रमा व्यापार पनि केही हद्सम्म फष्टाएको छ ।