Close This

अष्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्न शनिबार नेपाल फेष्टिभल सिड्नी हुँदै

शुक्रबार मङ्सिर २, २०७९/ Friday 11-18-22
Paschim Today

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोवास रहेको क्षेत्र बरउडको केन्द्र बरउड पार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो ।

नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ । अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको र शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरू, नेपाली व्यवसायीहरूले पाएको सफलताका कथाहरु नेपाल फेष्टिभलमा हेर्न पाइने बताए ।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरु सिड्नी आइपुगेका छन् । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समुदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए ।

उनले भने, ‘सन् २००६ बाट एनआरएनहरुले सिड्नीबाटै नेपाल फेष्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रुपमा लिने हुनाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अष्ट्रेलियनहरुले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरुले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।’

यसपटकको नेपाल फेष्टिभलमा ५५ वटा स्टलहरु राखिएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरुको रहेको छ । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरुले नेपाल फेष्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् । नेपाल फेष्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समुदायमा नेपाल प्रतिको चासो बढेको पाइएको बताउँछन् । उनी भन्छन्, ‘नेपालीलाई मेहनती भनेर धेरैले चिनेका छन् ।

काम गर्ने ठाउँमा हाम्रो फेष्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौं भन्दा उनीहरू मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको छ ।’ यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारहरुका साथै नेपालको चर्चित गायक दिपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपुत, हाँस्य कलाकार सन्दिप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ ।

मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेष्टिभलमा सहभागी हुने दर्शकहरुले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् । उनी भन्छिन्– ‘अष्ट्रेलियामा अधिकांश नेपालीहरू विद्यार्थीको रुपमा आउनुभयो । उहाँहरू जति नै व्यस्त भएपनि नेपाली गीत संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यसपटक हामीले सबै उमेर समूहका नेपालीहरूलाई समेट्नका लागि त्यही अनुरूप कलाकार छनोट गरेका छौं ।

शनिबार दिनभरि नेपाली गीत संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरुलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।’ महोत्सवको सुरुवातमा भने नेपाली पोसाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ । परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वती सहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् ।