Close This

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
दीर्घराज उपाध्याय

धनगढी,८ माघ । 

भारतको कर्नाटकास्थित मणिपाल ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन २०११ मा मेकानिकल ईञ्जिनियरको पढाई पुरा गरेपछि आदित्य अग्रवाल युरोप पुगे । उनको रोजाईमा जर्मनी थियो । जहाँ उनी छ महिना बसे ।  त्यहाँ रहदा उनले वासिङ मेसिन कम्पनीमा काम गरे ।

तर जर्मनीको सुख, सुबिधा र त्यहाँको आकर्षक जागीरले उनलाई बाँधीरहन सकेन । उनी युरोपको बसाईलाई बीट मार्दै ६ महिनामै गृहनगर धनगढी फर्किए । एक कक्षादेखि ५ कक्षासम्म धनगढीको सिद्धार्थ शिशु सदनमा पढेका आदित्यले माध्यामिक तहको पढाई नैनितालबाट पुरा गरेका थिए । प्लस टु कलकत्ताबाट पुरा गरेपछि उनी मेकानिकल ईञ्जिनियर बन्ने सपना पुरा गर्न कर्नाटका पुगे ।

बाल्यकाल होस्टेलमा बिताएका उनी आफ्नो बाँकी जीवन परिवारसंगै बिताउन चाहन्थे । र, जे काम गरेपनि आफ्नै गृहनगर धनगढीमा गर्न चाहन्थे । उनी संसारको जुनसुकै देशमा पनि आकर्षक पारिश्रमिक सहितको जागीर सजिलै पाउनसक्थे, हातमा मेकानिकल ईञ्जिनियरको सर्टिफिकेट, साथमा आत्मविश्वास जो थियो । 

उनका बुवाको गेटामा मैदा मिल थियो । उनले एक वर्ष मैदा मिलको कारोवार र उत्पादन नजिकबाट नियाले । मैदाको गुणस्तर र व्यापारलाई त्यो एक वर्षमा बुझे । मैदाबाट के कस्ता उत्पादनहरु तयार गर्न सकिन्छ ? ती उत्पादनका लागि कस्तो मैदा चाहिन्छ ? राम्रो मैदा कसरी बन्छ ? मेकानिकल ईञ्जिनियरिङलाई मैदाका बारेमा जान्ने तिर्खा लाग्यो । उनी मैदाका सम्बन्धमा तालिम लिन दिल्ली पुगे ।  एक महिनाको कक्षा लिएपछि मैदाका परिकारमा उनको रुची जाग्यो।

आदित्य सानै थिए । उनका बुवा राजकुमारलाई ब्रेड औंधी पर्ने । तर धनगढीमा ब्रेड उत्पादन नहुने । ब्रेड खान मन लागे पलिया पुग्नु पर्ने । पलियाबाट ब्रेड त आउथ्यो । तर त्यो बासी हुन्थ्यो । र, फिर्ता पनि हुन्थेन । यो कुरा आदित्यको मनमा गढेको थियो ।उनका बुवा मैदाको व्यापार गर्थे । काठमाण्डौंसम्म उनको मैदा जान्थ्यो । जव उनको समय मैदाको मिल भित्र बित्न थाल्यो । तव उनले थाह पाए, उनका बुवालाई औंधी मन पर्ने ब्रेड त्यही मैदाबाट बन्छ । नयाँ नयाँ कुरा खान आदित्य सौखिन । र, उनलाई पनि बुवा राजकुमार झै ब्रेड मनपथ्र्यो । र, भारत बस्दा त्यहाँ ब्रिटानियाको केक खान्थे । अनि उनी आफैलाई प्रश्न गर्थे, यस्तो केक धनगढीमा किन बनाउन सकिदैन ?

उनले बुवासंग ब्रेड उद्योग खोल्न सल्लाह गरे । आफैसंग राखेर छोरालाई व्यापारमा अघि बढाउने उनका बुवाको ईच्छा थियो । उनले आदित्यलाई बिलम्ब नगरी साथ दिए । २०६९ सालमा बुवाको साथ र प्रेरणाले उनले एउटा ओवन र मिक्सिङ मेसिनबाट ब्रेड उद्योग खोले । जसलाई नाम दिए, आरपी फुड एण्ड कन्फेक्सनरी प्रा.लि. । सिमित पूँजी र भारतबाट ल्याएका तीन जना कारिगारको सहयोगमा उनले नयाँ उद्योग खोलेका थिए । उद्घाटनको दिन ६०० पीस ब्रेड बनाए । र, अढाई सय पिस पाउरोटी । उनी अत्यन्त उत्साही भएर बजारमा ब्रेड र पाउरोटी पठाए । तर आधा भन्दा बढि माल फिर्ता आयो । पहिलो दिनले उनलाई निकै निराश बनायो ।

तर उनी बिचलित भएनन । उत्पादन रोकेनन । बिहान साढे पाँच बजे उठेर उनी बजारमा ब्रेड र पाउरोटी पठाउथे । जवकी मैदाको व्यापारमा त्यसरी बिहानै उठ्नु पर्थेन । उनले दिनरात मिहिनेत गरे । मैदाका परिकारलाई लिएर दिल्लीमा आहार प्रदर्शनी थियो । उनी त्यहाँ पुगे । प्रदर्शनीमा कुकिज देखे । अनि उनले कुकिज थप्ने निधो गरे । र, केही समयपछि राम्रो कुकिज उत्पादन गर्ने अत्याधुनिक मेसिन ल्याए ।

ब्रेड र पाउरोटीपछि उनले कुकिज उत्पादन शुरु गरे । त्यसपछि भने उनले बजारमा राम्रो रेस्पोन्स पाए । त्यसले उनी उत्साही भए । उनले उत्पादनहरु थप्दै लगे । र, मनोबल बढ्यो । केक थपे । जसलाई नाम दिए, ‘राम्रो केक’ । त्यतिबेलासम्म केक भारतबाट आउथ्यो । नेपालमा केक उत्पादन हुन्थेन । ग्राहकहरुले उनको ‘राम्रो केक’ निकै रुचाए । 

No photo description available.

शुरुमा धनगढीमा उनका उत्पादनहरु मुस्किलले बिक्री हुन्थे । किनकी ब्रेड र केक खाने बानी परिसकेको थिएन । र, भारतीय बजारबाट आउने सस्ता केक र ब्रेडहरुले बजार ओगटेका थिए ।  गुणस्तरीय उत्पादनहरु थप्दै लगेपछि भने नेपालका प्रमुख सबै शहरहरु, झापा, बिराटनगर, बुटवल, पोखरा, नारायणगढ, काठमाण्डौं, बिरगञ्ज लगायतबाट उनका उत्पादनहरुको माग आउन थाल्यो ।

हरेक दिन कसरी गुणस्तरीय नयाँ चिज ग्राहकहरुलाई दिने ? उनी सदैव त्यसैमा घोत्लिन्छन । अध्ययन गर्छन । परीक्षण गर्छन । नयाँ उत्पादनका विषयमा उनी आफ्ना बुवा राजकुमारसंग सल्लाह लिन्छन । छलफल गर्छन । बुवाछोरा एउटै टेबुलमा छलफल गर्छन, साथी जस्तै । आदित्य भन्छन्, मेरो बुवा मेरो मेण्टर, गार्जेन, एडभाईजर सबै हुन् । उहाँको अनुभवबाट धेरै कुरा सिक्दैछु । 

बुवाछोराको त्यही तालमेल र मिहिनेतले १० वर्षमा गुणस्तरीय उत्पादनहरुका कारण आरपी फुड एण्ड कन्फेक्सनरी प्रा.लि. एउटा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको छ । त्यतिमात्र होईन तीन जना कारिगारबाट शुरु गरेको उद्योगमा अहिले ६० जना काम गर्छन । ५० लाख रुपैयाबाट शुरु गरेको व्यवसायमा अहिले ५ करोड रुपैया भन्दा बढि लगानी भईसकेको छ ।यो १० वर्षमा नेपालको प्रोडेक्ट पनि राम्रो हुन्छ भन्ने सन्देश दिन सफल भएका छौ, आदित्य भन्छन्, अर्को वर्ष हामी उत्पादन क्षमता दुई गुणा बढाउन नयाँ प्लान्ट थप्दैछौ । त्यसपछि हाम्रा उत्पादनहरुलाई भारत सहित अन्तर्राष्ट्रिय बजारमा पठाउनेछौ ।

आकाशिदै गएको चिनी र मैदाको मूल्य । त्यसमाथि भारतबाट भित्रिने केक लगायत बेकरी उत्पादन, आदित्य भन्छन्, हाम्रा लागि यी चुनौती हुन् । तर हामी गुणस्तरीय उत्पादनका कारण सबै चुनौतीलाई सामना गर्दै आफ्नो बजार विस्तार गर्न सफल भएका छौ । आरपी एग्रो ईण्डष्ट्रिजको पनि लगानी र क्षमता बृद्धि गरिएको छ । जसले एक दिनमा २५० टन मैदा उत्पादन गर्ने क्षमता राख्छ । । उद्योगमा लगानी ३० करोड रुपैया पुगेको छ । ब्रेड बनाउने मैदा अलग हुन्छ । कुकिज बनाउने अलग । हरेक प्रोडेक्टका लागि चाहिने गुणस्तरीय मैदा उत्पादन गरिरहेको उनी सुनाउछन् । तर नेपालको एउटा कुनामा धनगढी भएकोले यहाँको मैदा बिरगञ्ज, बिराटनगर र झापाको बजारमा पठाउदा लाग्ने ढुवानीको खर्चका कारण पूर्वी नेपालका उद्योगहरुसंग प्रतिस्पर्धा गर्न कठिनाई भईरहेको उनी बताउछन् । यद्दपि बर्दियामा नुडल्स उद्योग खुलेपछि भने उनी उत्साही छन् । 

बेकरी उनको व्यापारको हिस्सा होईन । जीवनकै हिस्सा भएको छ । र त, रातदिन उनी बेकरीभन्दा टाढा रहेर सोच्न सक्दैनन । अनुभव र भोगाईलाई समेटेर उनले एउटा किताव लेखेका छन्,– ‘टर्न योर बेकरी प्रोफिटेबल एट नो एक्स्ट्रा कस्ट’ । जुन पुस्तक दुई साताभित्र बजारमा आउदैछ । 

मान्छे कुन भूगोलमा जन्मियो ? वा उ कुन भूगोलमा बस्छ ? त्यसले अर्थ राख्दैन । कामप्रतिको समर्पण, आत्मविश्वास, धैर्यता र मिहिनेतले उसले आफ्नो अलग पहिचान बनाउछ । आदित्य त्यसको उदाहरण हुन् । भन्छन्, म युरोपमै बस्न सक्थे । त्यहाँ सबै सुख, सुबिधा र आकर्षक पारिश्रमिक थियो । तर आफ्नै गृह नगर धनगढीमा केही गर्नुपर्छ भन्ने सोचले म फर्किए ।

यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए